1

¶ परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो ।

2

तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्‍यामीनका सबै जना, मेरा कुरा सुन्‍नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्‍छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्‍याग्‍नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्‍याग्‍नुहुनेछ ।

3

अब धेरै समयसम्‍म इस्राएल साँचो परमेश्‍वर, सिकाउने पुजारी र व्‍यवस्‍थाविना थियो ।

4

तर जब आफ्‍नो कष्‍टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके ।

5

त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्‍ट थियो ।

6

तिनीहरू टुक्रा-टुक्रा पारिए, राष्‍ट्रको विरूद्ध राष्‍ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्‍वरले तिनीहरूलाई सबै किसिमका दु:खले समस्‍यामा पार्नुभयो ।

7

तर तपाईंहरू बलियो हुनुहोस्, आफ्ना हातहरू कमजोर हुन नदिनुहोस्, किनकि तपाईंका कामहरूको प्रतिफल दिइनेछ ।”

8

जब आसाले यी कुरा, ओदेदका छोरा अजर्याह अगमवक्ताका अगमवाणी सुने, तब तिनको साहस बढ्यो, र यहूदा र बेन्‍यामीनका सारा देश र तिनले कब्‍जा गरेका एफ्राइमका पहाडी देशका सहरहरूबाट घिनलाग्‍दा कुराहरू सबै हटाइदिए, र तिनले परमप्रभुको मन्‍दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्‍मत गरे ।

9

तिनले सारा यहूदा र बेन्‍यामीन र एफ्राइम, मनश्‍शे र शिमियोनबाट तिनीहरूसँग बस्‍नेहरूलाई भेला गरे । किनभने परमप्रभु तिनका परमेश्‍वर तिनीसँग हुनुभएको तिनीहरूले देखेर इस्राएलबाट तिनीहरू धेरै सङ्‍ख्‍यामा तिनीकहाँ आए ।

10

यसैले आसाका राजकालको पन्‍ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा एकसाथ भेला भए ।

11

त्‍यस दिन तिनीहरूले ल्‍याएको लूटका मालबाट परमप्रभुलाई सात सय साँढे र सात हजार भेडाहरू र बाख्राहरू बलिदान चढाए ।

12

तिनीहरू आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले परमप्रभु आफ्‍ना पुर्खाका परमेश्‍वरको खोजी गर्नलाई करार बाँधे ।

13

अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने जोसुकैलाई मारिनुपर्छ भन्‍ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्‍त्री होस् ।

14

तिनीहरूले ठूलो सोर, चिच्‍च्‍याएर, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए ।

15

सारा यहूदा शपथमा आनन्‍दित भयो, किनकि तिनीहरूले आफ्‍ना पूरा हृदयले शपथ खाएका थिए, र तिनीहरूले आफ्‍ना सारा इच्‍छाले परमेश्‍वरलाई खोजे, र तिनीहरूले उहाँलाई पाउन सके । तिनीहरूका वरिपरि सबैतिरबाट परमप्रभुले तिनीहरूलाई शान्ति दिनुभयो ।

16

तिनले आफ्‍नी हजुरआमा माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको खम्‍बोबाट घिनलाग्‍दो मूर्ति बनाएकी थिइन् । आसाले त्‍यो घिनलाग्दो मूर्तिलाई काटेर ढालिदिए, त्‍यसलाई धुलोपिठो पारे र किद्रोन खोल्‍सामा जलाइदिए ।

17

तर डाँडाहरूमा भएका अल्‍गा थानहरू इस्राएलबाट हटाइएनन् । तापनि आसाको जीवनकालभरि तिनको हृदय विश्‍वासयोग्य रहिरह्यो ।

18

तिनले आफ्‍ना पिताले अर्पण गरेका सुन, चाँदी र भाँडाकुँडाहरू परमेश्‍वरको मन्‍दिरमा ल्‍याए ।

19

आसाको राजकालको पैँतिसौँ वर्षसम्‍म कुनै युद्ध भएन ।