1

¶ येहूको सातौँ वर्षमा योआशले राज्‍य गर्न थाले । तिनले यरूशलेममा चालिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ सिब्या थियो, जो बेर्शेबाकी थिइन् ।

2

योआशले सधैँ परमप्रभुको दृष्‍टिमा जे ठिक छ, त्यही गरे किनकि यहोयादा पुजारीले तिनलाई सल्‍लाह दिने गर्थे ।

3

तर डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलिदान चढाए र धूप बाले ।

4

योआशले पुजारीहरूलाई भने, “परमप्रभुको मन्दिरभित्र पवित्र भेटीहरूको रूपमा ल्याइएका सबै रुपियाँ-पैसा अर्थात् जनगणनामा जम्मा गरिएको रकम वा व्यक्तिगत भाकलबाट प्राप्‍त गरिएको रकम वा परमप्रभुद्वारा मानिसहरूका आ-आफ्ना ह्रदयमा प्रेरित गरी तिनीहरूद्वारा ल्याइएको रकम जम्मा गर,

5

पुजारीहरूले कुनै एक जना कोषाध्यक्षबाट रकम लिऊन् र मन्दिरमा भएको कुनै पनि क्षतिको मर्मत गरून् ।”

6

तर राजा योआशको तेइसौँ वर्षसम्म पनि पुजारीहरूले मन्दिरमा केही पनि मर्मत गरेका थिएनन् ।

7

तब राजा योआशले यहोयादा पुजारी र अन्य पुजारीहरूलाई बोलाई तिनीहरूलाई भने, “किन तिमीहरूले मन्दिरमा केही पनि मर्मत गरेका छैनौ? अबदेखि तिमीहरूका कर उठाउनेहरूबाट रकम नउठाउनू, तर मन्दिरको मर्मतको लागि जे-जेति जम्मा भएका छन्, ती लिएर मर्मत गर्न सक्‍नेहरूलाई दिनू ।”

8

त्यसैले अब मानिसहरूबाट रुपियाँ-पैसा नलिने र पुजारीहरू आफैले मन्दिरको मर्मत नगर्ने कुरामा तिनीहरू सहमत भए ।

9

बरु, यहोयादा पुजारीले एउटा सन्दुक लिएर त्यसमा प्वाल पारे, अनि यसलाई परमप्रभुको मन्दिरभित्र प्रवेश गर्ने दाहिनेपट्टि वेदीको छेउमा राखे । मन्दिरको प्रवेशद्वारको पहरा दिने पुजारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हाल्‍थे ।

10

जब सन्दुकमा धेरै रकम जम्‍मा भएको तिनीहरूले देख्‍थे, राजाका सचिव र प्रधान पुजारी आउँथे र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा थैलाहरूमा हाल्‍थे र त्‍यसपछि गणना गर्थे ।

11

तिनीहरूले उक्त रकम हिसाब गरेपछि परमप्रभुको मन्दिरको रेखदेख गर्नेहरूका हातमा दिन्थे । तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्ने सिकर्मीहरू र निर्माणकर्ताहरू

12

अनि डकर्मीहरू र ढुङ्गा काट्नेहरू, परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाइएका ढुङ्गाहरू किन्‍नलाई र मन्दिरको पुनर्निर्माणको लागि आवश्‍यक सबै खर्च गर्नलाई त्‍यो लिएर तिर्थे ।

13

तर परमप्रभुको मन्दिरभित्र ल्याइएको रकम चाँदीको कचौरा, सामदानका चिम्टाहरू, बाटाहरू, तुरहीहरू वा सुनचाँदीका सजावटका सामानहरूका लागि खर्च गरिएन ।

14

तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए ।

15

यसको बाहेक, तिनीहरूले काम गर्नेहरूका निम्ति मुख्य कामदारहरूलाई दिएका रुपियाँ-पैसाको हिसाब आवश्‍यक थिएन किनकि यी मानिसहरू इमानदार थिए ।

16

तर दोष बलि र पाप बलिको निम्ति ल्याइने रुपियाँ-पैसा भने परमप्रभुको मन्दिरमा ल्याइएन किनकि यो पुजारीहरूको थियो ।

17

त्यसपछि अरामका राजा हजाएलले गातको विरुद्धमा आक्रमण गरे र त्‍यसलाई लिए । त्यसपछि हजाएलले यरूशलेमलाई आक्रमण गर्न फर्के ।

18

यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याह र तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर र राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए र ती अरामका राजा हजाएललाई पठाइदिए । तब हजाएल यरूशलेमबाट गए ।

19

योशाश, तिनले गरेका अरू कामहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

20

तिनका सेवकहरू खडा भए र तिनीहरूले मिलेर षड्यन्त्र गरे । तिनीहरूले योशाशलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा आक्रमण गरे ।

21

तिनका सेवकहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबादले तिनलाई आक्रमण गरे, अनि तिनी मरे । तिनीहरूले योआशलाई दाऊदको सहरमा तिनका पुर्खाहरूसित गाडे, र तिनको ठाउँमा तिनका छोरा अमस्याह राजा भए ।