1

¶ जब पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।

2

पत्रुस र यूहन्‍नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो ।

3

उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो ।

4

तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।

5

अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्‍त्रीहरू यरूशलेममा जम्मा भए ।

6

प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।

7

जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”

8

अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,

9

यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने,

10

तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।

11

येशू ख्रीष्‍ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो ।

12

अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”

13

जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।

14

उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् ।

15

तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।

16

उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।

17

तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।”

18

तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।

19

तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।

20

किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”

21

अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्‍नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए ।

22

यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए ।

23

तिनीहरूलाई स्वतन्‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए ।

24

तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,

25

तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?

26

परमप्रभु र उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए ।

27

वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।

28

तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।

29

हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् ।

30

ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्‍चर्यहरू होऊन् ।”

31

तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले ।

32

विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।

33

ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।

34

तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे

35

र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकतापरेअनुसार हरेक विश्‍वसीलाई वितरण गरिन्थ्यो ।

36

साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए ।

37

उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।