1

¶ मानिसहरूले एलीमबाट यात्रा थाले र मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम र सीनै पर्वतको बिचमा पर्ने सीनको उजाड-स्थानमा आइपुगे ।

2

उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।

3

इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”

4

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । तिनीहरू मेरो विधि मान्छन् वा मान्दैनन् भनी जाँच गर्न हरेक दिन एक दिनको भाग जम्मा गर्न मानिसहरू बाहिर जानेछन् ।

5

छैटौँ दिनमा तिनीहरूले पहिले हरेक दिनमा बटुल्ने भन्दा दुई गुणा बटुल्नेछन्, र तिनीहरूले त्यसलाई भित्र ल्याएर पकाउनेछन् ।”

6

तब मोशा र हारूनले इस्राएलका सबै मानिसलाई भने, “मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ ।

7

बिहान तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र?

8

मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।”

9

मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ' ।”

10

हारून इस्राएलको सारा समुदायसित बोल्दा तिनीहरूले उजाड-स्थानतिर हेरे र परमप्रभुको महिमा बादलमा देखियो ।

11

तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

12

“मैले इस्राएलका मानिसहरूको गनगन सुनेको छु । तिनीहरूलाई भन्, 'साँझमा तिमीहरूले मासु खानेछौ, र बिहानचाहिँ तिमीहरूले अघाउञ्‍जेल रोटी खानेछौ । तब म नै तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”

13

साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए । बिहान छाउनीको वरिपरि शीत परेको थियो ।

14

शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए ।

15

इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।

16

परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्‍ने हरेक व्यक्तिलाई पर्याप्‍त हुने गरी बटुल' ।”

17

इस्राएलका मानिसहरूले त्यसै गरे । कसैले धेरै बटुले भने कसैले थोरै ।

18

तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।

19

तब मोशाले तिनीहरूलाई भने, “बिहानसम्म तिमीहरू कसैले पनि यसबाट नउबार ।”

20

तर तिनीहरूले मोशाको कुरा मानेनन् । कसैले बिहानसम्म अलिकति उबारे, तर त्यसमा किरा लागेर त्यो गन्हायो । त्यसपछि मोशा तिनीहरूसित रिसाए ।

21

तिनीहरूले बिहानैपिच्छे बटुल्थे । हरेकले त्यस दिनलाई पुग्‍ने बटुल्थ्यो । घाम चर्केपछि त्यो पग्लन्थ्यो ।

22

छैटौँ दिनमा तिनीहरूले दुई गुणा रोटी बटुले अर्थात् हरेकको लागि दुई ओमेर बटुले । समुदायका सारा धर्म-गुरुहरू आएर मोशालाई यो कुरा बताए ।

23

तिनले तिनीहरूलाई भने, “परमप्रभुले यसो भन्‍नुभएको छः भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो । तिमीहरू जे पकाउन चाहन्छौ, सो पकाओ र जे उमाल्न चाहन्छौ, सो उमाल । उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू' ।”

24

त्यसैले तिनीहरूले मोशाले निर्देशन दिएजस्तै यसलाई बिहानसम्म राखे ।

25

मोशाले भने, “त्यो खाना आज खाओ किनकि आजको दिन परमप्रभुको निम्ति अलग गरिएको शबाथ हो । आज तिमीहरूले यो खाना जमिनमा पाउनेछैनौ ।

26

छ दिनसम्म तिमीहरूले यो बटुल्नेछौ, तर सातौँ दिनचाहिँ शबाथ हो ।

27

सातौँ दिनमा त्यहाँ मन्‍न हुनेछैन ।” सातौँ दिनमा पनि केही मानिसहरू मन्‍न बटुल्न गए, तर तिनीहरूले केही पाएनन् ।

28

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र विधिहरू मान्‍नलाई इन्कार गर्छौ?

29

परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ । त्यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्छ । हरेक आ-आफ्नै ठाउँमा बस्‍नू । सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू ।”

30

त्यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे ।

31

इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्‍न” भने । यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो ।

32

मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्‍न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्‍न सकून्' ।”

33

मोशाले हारूनलाई भने, “एउटा भाँडोभित्र एक ओमेर मन्‍न हाल्नुहोस् । पुस्तौँसम्म यसलाई परमप्रभुको सामु सुरक्षित राख्‍नुहोस् ।”

34

परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे ।

35

इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्‍न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे ।

36

एक ओमेर आधा पाथी हुन्छ ।