1

¶ मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।

2

छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।

3

शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।”

4

मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, “परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो ।

5

इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,

6

निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,

7

रातो रङ्गाइएको भेडाको छाला र सीलको छाला, बबुल काठ,

8

पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि

9

आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ।

10

तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:

11

पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू

12

र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्‍चित्तको ढकनी र यसलाई ढाक्‍ने पर्दा ।

13

तिनीहरूले टेबुल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी,

14

बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,

15

धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,

16

होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठुलो बाटा बनाऊन् ।

17

तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,

18

र पवित्र वासस्थान र चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए ।

19

तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।

20

तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए ।

21

जस-जसका ह्रदय प्रेरणाले भरिए र आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए ।

22

इच्छुक ह्रदय भएका पुरुष र स्‍त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।

23

तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।

24

चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो र काममा प्रयोग हुन सक्‍ने कुनै किसिमको बबुल काठ भएकोले त्यसलाई ल्यायो ।

25

हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।

26

जो-जो स्‍त्रीका ह्रदय प्रेरणाले भरिए र जससित सिप थियो, तिनीहरूले बाख्राका भुत्ला काते ।

27

एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ल्याए ।

28

तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए ।

29

इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्‍त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।

30

मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्‍नुभएको छ ।

31

उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।

32

तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् ।

33

सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छन् ।

34

तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको छ ।

35

तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्‍ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।