1

¶ त्यसैले दारा राजाले बेबिलोनको अभिलेख संग्रहमा खोजतलाश गर्ने आज्ञा दिए ।

2

मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः

3

“राजा कोरेसको पहिलो वर्षमा, कोरेसले यरूशलेममा भएको परमेश्‍वरको मन्दिरको बारेमा एउटा आदेश जारी गर्नुभयो, 'बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस्, यसका जगहरू बसालिऊन्, यसको उचाइ साठी हात र चौडाइ साठी हात होस्,

4

चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्‍याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।

5

अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्‍याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्‍वरको मन्दिरमा राख्‍नुपर्छ ।'

6

अब यूफ्रेटिस नदीपारिकप प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू अलग बसून् ।

7

परमेश्‍वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्‍वरको मन्दिर बनाउनेछन् ।

8

परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।

9

तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्‍न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।

10

यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।

11

कसैले यस आदेशलाई उल्लङ्घन गर्‍यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिंदैछु ।यो कारणले त्यसपछि त्यसको घरलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरियोस् ।

12

त्यस ठाउँमा आफ्नो नाउँ राख्‍नुहुने परमेश्‍वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्‍वरको यस मन्दिरलाई नष्‍ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्‍यूत गरून् । म दाराले यो आदेश दिंदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।”

13

तब राजा दाराद्वारा पठाइएको यस आदेशको कारणले यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरूले राजा दाराले आज्ञा गरेअनुसार हरेक कुरा गरे ।

14

यसरी यहूदी धर्म-गुरुहरूले हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे र उन्‍नति गरे । इस्राएलका परमेश्‍वरको आज्ञा र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्‍नो भवन बनाएर सिद्ध्याए ।

15

राजा दाराको शासनकालको छैटौं वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम पुरा भयो ।

16

इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्‍वरको यस मन्दिरको समर्पण-उत्सव मनाए ।

17

परमेश्‍वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे, एक सयवटा भेडा र चार सयवटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो ।

18

मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्‍वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।

19

यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौं दिनमा निस्तार-चाड मनाए ।

20

पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए ।

21

निस्तारको मासु खाने इस्राएलका मानिसहरूमा निर्वासनबाट फर्केका र देशका मानिसहरूको अशुद्धताबाट आफूलाई अलग राखेका अनि इस्राएलका परमप्रभु परमेश्‍वरको अनुसरण गरेकाहरू थिए ।

22

तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए, किनकि परमप्रभुले तिनीहरूमा आनन्द ल्याउनुभएको थियो, र इस्राएलका परमेश्‍वरको मन्दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको ह्रदय फर्काइदिनुभएको थियो ।