1

¶ राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:

2

पीनहासका परिवारका– गेर्शोम । ईतामारका परिवारका– दानिएल । दाऊदका परिवारका– शकन्‍याहका छोरा हत्तूश,

3

परोशका परिवारका– जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।

4

पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्‍यहोएनै र तिनीसँग २०० पुरुष थिए ।

5

जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।

6

आदीनका परिवारका– जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए ।

7

एलामका परिवारका– अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।

8

शपत्‍याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए ।

9

योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।

10

बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।

11

बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए ।

12

अज्‍गादका परिवारका– हक्‍कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।

13

अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।

14

बिग्‍वैको परिवारका– उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।

15

मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।

16

त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब र एल्‍नातान र नातान, जकरिया र मशुल्‍लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्‍नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।

17

त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्‍वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्‍न लगाएँ ।

18

त्यसैले हाम्रा परमेश्‍वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए ।

19

तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।

20

दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।

21

त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।

22

बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'

23

त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।

24

त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।

25

राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।

26

मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,

27

आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।

28

तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरको निम्ति स्वेच्छिक भेटी हुन् ।

29

यरूशलेममा परमेश्‍वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्‍नू ।”

30

यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे ।

31

पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्‍यौं । हामीमाथि हाम्रा परमेश्‍वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।

32

यसरी हामी यरूशलेम प्रवेश गर्‍यौं, र त्यहाँ तिन दिन बस्यौं।

33

तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्‍वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्‍नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो ।

34

हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।

35

निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।

36

तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।