1

¶ यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।

2

सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो ।

3

तब बेबिलोनका राजाका सबै अधिकारी अर्थात् नेबो-सर्सेकिम, सम्गर-नेबो र एक उच्‍च अधिकारी सर्सेचिम आएर मध्य ढोकामा बसे । नेबो-सर्सेकिम बेबिलोनका राजाका विशिष्‍ट अधिकारी थिए, र अरू बाँकी सबै अधिकारीहरू थिए ।

4

जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।

5

तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।

6

रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।

7

तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे ।

8

अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।

9

राजाको अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे । कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए ।

10

तर अङ्गरक्षकका कप्‍तापन नबूजरदानले केही नभएका सबैभन्दा गरिब मानिसहरूलाई यहूदा देशमा छाडे । त्यही दिन तिनले तिनीहरूलाई दाखाबारी र खेतहरू दिए ।

11

बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,

12

“तिनलाई लेजाऊ र तिनको राम्रो हेरचाह गर । तिनलाई कुनै हानि नगर । त्यसले तिमीलाई भनेका हर कुरा गर्नू ।”

13

त्यसैले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदान, उच्‍च नपुंसक नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्‍च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए ।

14

तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बिचमा बसे ।

15

यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,

16

“कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस सहरको विरुद्धमा भलाई नभई विपत्ति ल्याएर मैले मेरा वचन पुरा गर्नै लागेको छु । त्यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन् ।

17

तर त्यस दिन म तँलाईचाहिं छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ ।

18

किनकि म निश्‍चय नै तँलाई छुटकारा दिनेछु । तँ तरवारले ढालिनेछैनस् । तैंले ममाथि भरोसा गरेको हुनाले तेरो जीवन जोगिनेछ, यो परमप्रभु घोषणा थियो' ।”