1

¶ सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाका यर्मियाकी छोरी थिइन् ।

2

परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे ।

3

परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।

4

राजा सिदकियाहको शासनकालको नवौं वर्षको दसौं महिनाको दसौं दिनमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्ना सबै सेनासँगै आए । तिनीहरूले यसको सामु छाउनी हाले, र तिनीहरूले यसको चारैतिर घेराबन्दी गरे ।

5

यसरी राजा सिदकियाहको शासनकालको एघारौं वर्षसम्म सहरलाई घेराबन्दी गरियो ।

6

चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।

7

तब सहरको पर्खाल भत्काइयो, र कल्दीहरू सहरको चारैतिर भए तापनि सहरको पर्खाललाई भत्काएर सबै योद्धा रातमा राजाको बगैंचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटो भएर भागे । तिनीहरू अराबाको दिशातिर गए ।

8

तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।

9

तिनीहरूले राजालाई समाते र हमात देशको रिब्लामा बेबिलोनका राजाकहाँ तिनलाई ल्याए जहाँ राजाले तिनलाई दण्डको फैसला सुनाए ।

10

बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे ।

11

तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए । तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे ।

12

अब बेबिलोनका राजा नबूकदनेसरको राज्‍य सुरु गरेको उन्‍नाइसौं वर्षको पाँचौं महिनाको दसौं दिनमा नबूजरदान यरूशलेममा आए । तिनी राजाका अङ्गरक्षकहरूका कमान्‍डर अनि बेबिलोनका राजाका सेवक थिए ।

13

तिनले परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए । अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए ।

14

यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्गरक्षकहरूका कमान्‍डरको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे ।

15

सबैभन्दा गरिब मानिसहरू, सहरमा बाँकी रहेका मानिसहरू, बेबिलोनका राजाकहाँ भागेर गएकाहरू र बाँकी रहेका कारीगरहरूका विषयमा, अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तीमध्‍ये कसैलाई निर्वासनमा लगे ।

16

तर अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले दाखबारी र खेतहरूमा काम गर्न देशका सबैभन्दा गरिबहरूलाई त्यहीं छोडे ।

17

परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलो विषयमा कल्दीहरूले ती टुक्राटुक्रा पारे, र सबै काँसाचाहिं बेबिलोनमा लगे ।

18

भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि, कल्दीहरूले तीसबै लगे ।

19

राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे ।

20

सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।

21

स्तम्भहरू प्रत्‍येकका उचाइ अठार हात थियो, र गोलाइ बाह्र हात थियो । प्रत्येकको मोटाइ चार अङ्गुल चौडा र खोक्रो थियो ।

22

स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर पाँच हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित पहिलेको जस्तै थियो ।

23

स्तम्भ-शिरका छेउ-छेउमा छयानब्‍बेवटा दारिम थिए । चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सयवटा थिए ।

24

अङ्गरक्षकहरूका कमान्‍डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।

25

तिनले सिपाहीहरूको जिम्मामा भएका अधिकारी, सहरमा अझै बाँकी रहेका राजाका सात जना सल्लाहकारलाई सहरबाट कैद गरेर लगे । तिनले देशका मानिसहरूलाई सेनाम भर्ती गर्ने मुख्य अधिकारी र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि कैद गरेर लगे ।

26

तब अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तिनीहरूलाई रिब्लामा बेबिलोनका राजाकहाँ लगे ।

27

बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।

28

नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरू यी नै थिएः सातौँ वर्षमा ३,०२३ जना यहूदी ।

29

नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे ।

30

नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।

31

यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैंतिसौं वर्षको बाह्रौं महिनाको पच्‍चिसौं दिनमा, बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरे । एबील-मरोदकले राज्‍य सुरु गरेको वर्षमा यसो गरियो ।

32

राजाले तिनीसित दयापूर्वक बोले, र बेबिलोनमा तिनीसित भएका अन्य राजाहरूलाई भन्दा तिनलाई प्रतिष्ठित स्थान दिए ।

33

एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू हटाए, र यहोयाकीनले आफ्नो बाँकी जीवनभर नियमित रूपमा राजाको टेबुलमा खानपान गरे,

34

र तिनको मृत्यु नभएसम्म नै तिनको बाँकी जीवनभर हरेक दिन तिनलाई नियमित रूपमा खानाको भत्ता दिइयो ।