¶ के एउटा बल्छीले तैंले लिव्यातन्लाई तान्न सक्छस्? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्न सक्छस्?
के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस्? एउटा बल्छीले त्यसको बङ्गारा छेड्न सक्छस्?
के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?
के त्यसले तँसित करार गर्नेछ, जसले गर्दा सदाको निम्ति तैंले त्यसलाई कमारो बनाउनुपर्छ?
तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्नेछस् र?
के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन्? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन्?
के तैंले त्यसको छालामा चक्कु हान्न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्न सक्छस्?
एकपल्ट त्यसमाथि आफ्नो हात राख्, अनि तँलाई त्यो युद्धको सम्झना हुनेछ, र फेरि तैंले कदापि त्यसो गर्नेछैनस् ।
हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्नेछैनन् र?
कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?
मैले तिर्नुपर्ने गरी कसले मलाई कुनै कुरो दिएको छ र? सम्पूर्ण आकाशमुनि भएका सबै थोक मेरै हुन् ।
लिव्यातन्का खुट्टाहरूको विषयमा म चुप लाग्नेछैनँ, न त्यसको बल, न त त्यसको भव्य आकारको विषयमा चुप लाग्नेछु ।
त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ? ढाल जस्तो त्यसको दोहोरो छाला कसले छेड्न सक्छ?
त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्छ, जुन त्रासदी हो ।
तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्द छापझैं एकसाथ जोडिएका हुन्छन् ।
एक अर्कोमा यसरी टाँसिन्छन्, जसको बिचबाट हावा पनि छिर्न सक्दैन ।
ती एक-अर्कामा टाँसिएका हुन्छन् । छुट्ट्याउनै नसकिने गरी ती एकसाथ टाँसिन्छन् ।
त्यसले हाच्छीं गर्दा बाहिर झिल्काहरू निस्कन्छन् । त्यसका आँखा बिहानको पलकजस्तै छन् ।
त्यसको मुखबाट बलिरहेका राँकोहरू, आगोका झिल्काहरू बाहिर निस्कन्छन् ।
तताउनलाई आगोमाथि राखेको भाँडोबाट वाफ निस्केझैं, त्यसका नाकका प्वालहरूबाट धुवाँ निस्कन्छन् ।
त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।
त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।
त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्टाउन सकिंदैन ।
त्यसको मुटु ढुङ्गाजस्तै कडा हुन्छ । वास्तवमा जाँतोको तल्लो पाटोझैं कडा हुन्छ ।
त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
तरवारले त्यसलाई हान्ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्चे हतियारले त्यसलाई केही हुन्छ ।
त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्छ ।
काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।
मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।
त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्छ ।
त्यसले गहिरो पानीलाई पानी उम्लको भाँडोजस्तै उमाल्छ । त्यसले समुद्रलाई मलहमको भाँडोजस्तै बनाउँछ ।
त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।
पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।
हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्डका सबै छोराहरूमध्ये त्यो त राजा नै हो ।”