1

¶ पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।

2

ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?

3

यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्‍ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।

4

बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्‍याङ्‍ग्राले खाएका छन्, र फट्‍याङ्‍ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्‍किराले खाएका छन् ।

5

ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।

6

किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।

7

त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।

8

आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्‍ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।

9

परमप्रभुको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् ।

10

खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।

11

ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।

12

दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।

13

ए पुजारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् ।

14

पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।

15

हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।

16

के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?

17

माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।

18

पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् ।

19

हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।

20

जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्‍पिन्‍छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्‍म पारेको छ ।