1

¶ परमप्रभुले मोशालाई भेट हुने पालबाट बोलाएर यसो भन्‍नुभयो,

2

“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘तिमीहरूका बिचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू ।

3

यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।

4

त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ ।

5

त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।

6

तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस् ।

7

अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् ।

8

हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।

9

तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।

10

यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस् ।

11

त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

12

त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,

13

तर त्यसका आन्द्राभुँडी र खुट्‍टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।

14

यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, त्यसले एउटा ढुकुर वा परेवाको बचेरा ल्याओस् ।

15

पुजारीले त्यो वेदीमा ल्याओस्, त्यसको टाउको निमोठेर चुँडाओस्, र त्यसलाई वेदीमा जलाओस् । त्यसपछि त्यसको रगत वेदीको छेउमा बहाइयोस् ।

16

त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्‍टि खरानी राखिने ठाउँमा फ्याँकोस् ।

17

त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस् । त्यसपछि पुजारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस् । यो एउटा होमबलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो नै आगोबाट चढाइएको बलि हुने छ ।