¶ जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।
र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू हाम्रो सामुन्नेको गाउँमा जाओ । तिमीहरू पस्ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”
तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए ।
त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?”
तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए ।
दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे ।
धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए ।
उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्ना! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् ।
हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस्! सर्वोच्चमा होसन्ना!”
त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।
अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।
उहाँले पातसहितको अञ्जीरको बोट टाढैबाट देख्नुभयो । यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनभने यो अञ्जीर फल्ने समय थिएन ।
उहाँले त्यसलाई भन्नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने ।
उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्ने र बेच्नेहरूलाई बाहिर खेद्न थाल्नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्नेहरूको बस्ने मेचलाई पल्टाइदिनुभयो ।
उहाँले कसैलाई पनि मन्दिर भएर बेच्न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन ।
उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।”
उहाँले भन्नुभएको कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्क परेका हुनाले तिनीहरू डराए ।
जब साँझ पर्यो, उहाँहरू सहर छोडेर जानुभयो ।
जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्जीरको रुख जरैदेखि सुकेको देखे ।
पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त! तपाईंले सराप दिनुभएको अञ्जीरको रुख त सुकेछ ।”
“परमेश्वरमा विश्वास गर” भनेर येशूले उत्तर दिनुभयो ।
साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ ।
त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्वास गर ।
जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका अपराधहरू क्षमा गरिदिऊन् ।”
[टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६] तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन ।
उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?”
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।
यूहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो? मलाई जवाफ देओ ।”
तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्वास गर्दैनौ?’
तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्ना अगमवक्ता हुन् भनी मान्थे ।
त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”