1

¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

2

“मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए, त्यसको निम्ति बद्ला ले । त्यो काम गरेपछि तँ मर्ने छस् र तेरा मानिसहरूसँग मिल्न जाने छस् ।”

3

त्यसैले मोशाले मानिसहरूलाई भने, “तिमीहरूका केही मानिसहरूलाई सुसज्‍जित पार ।

4

तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।”

5

त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो ।

6

त्यसपछि मोशाले तिनीहरूलाई पुजारी एलाजारका छोरा पीनहासको साथमा पवित्र स्थानका केही सरसामानहरू र सङ्केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक-एक हजार जना मानिसलाई युद्ध गर्न पठाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ

7

तिनीहरूले मिद्यनीहरूसँग लडे ।

8

तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे ।

9

इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्‍चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।

10

तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए ।

11

तिनीहरूले मानिसहरू र पशुहरू दुवैलाई लुटको माल र कैदीको रूपमा लिए ।

12

तिनीहरूले कैदीहरूलाई, लुटका मालहरू र कब्जा गरेका सामानहरू मोशा, पुजारी एलाजार र इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए । तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए ।

13

मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवा तिनीहरूलाई भेट्न छाउनी बाहिर गए ।

14

तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्‍तानहरूसँग रिसाए ।

15

मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको?

16

हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।

17

अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।

18

तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।

19

तिमीहरू सात दिनसम्म इस्राएलको छाउनीबाहिर छाउनीमा बस्‍नुपर्छ । कसैलाई मारेका र मुर्दालाई छोएका तिमीहरू सबैले तिमीहरू र तिमीहरूका कैदीहरूसहित तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ ।

20

तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ ।”

21

पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः

22

सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा,

23

र आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ र यो शुद्ध हुने छ । त्यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ । जुन कुरालाई आगोमा जलाउन मिल्दैन, त्यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ ।

24

तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ र तिमीहरू शुद्ध हुने छौ । त्यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ ।

25

त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

26

“मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई

27

दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबिच बाँड् ।

28

त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू । यो कर मानिस, गाईवस्तु, गधा, भेडा वा बाख्राहरू जे भए पनि हरेक पाँच सयमा एउटा हुनुपर्छ ।

29

यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू ।

30

साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।”

31

त्यसैले मोशा र पुजारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे ।

32

सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा,

33

सत्तरी हजार गोरु,

34

एकसट्ठी हजार गधा,

35

र पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए ।

36

सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट

37

परमप्रभुको भाग ६७५ थियो ।

38

गोरुहरू छत्तिस हजार थिए, जसबाट परमप्रभुको भागमा बहत्तरवटा थिए ।

39

गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए ।

40

सोह्र हजार महिला थिए, जसबाट परमप्रभुको भाग बत्तिस जना थिए ।

41

परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पुजारी एलाजारलाई दिए ।

42

युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा

43

समुदायको आधा भाग ३,३७,५०० भेडा,

44

तिस हजार गोरु,

45

३०,५०० गधा,

46

र सोह्र हजार महिला थिए ।

47

इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।

48

फौजका अधिकृतहरू, हजारका सेनापतिहरू र पचास जनाका कप्‍तानहरू मोशाकहाँ आए ।

49

तिनीहरूले तिनलाई भने, “तपाईंका दासहरूले हाम्रो स्वामित्वमा भएका सिपाहीहरूको गन्ती गरेका छन् र एक जना पनि हराएको छैन ।

50

हामी हरेकले पाएका सुनका गहनाहरू, बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ ।”

51

मोशा र पुजारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे ।

52

तिनीहरूले परमप्रभुलाई दिएका, हजारका सेनापतिहरू र सय जनाका कप्‍तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो ।

53

हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए ।

54

मोशा र पुजारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्‍तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे ।