1

¶ त्यसपछि योसेफका सन्तानहरूका कुलका माकीरका (जो मनश्शेको छोरा थिए) छोरा गिलादको कुलका पुर्खाहरूका अगुवाहरू आए अनि

2

मोशा र इस्राएलका मानिसहरूका पुर्खाहरूका परिवारहरूको प्रमुखहरूको सामु भने, “परमप्रभुले हाम्रा मालिक तपाईंलाई इस्राएलका मानिसहरूलाई चिट्ठाद्वारा भूमिको हिस्सा दिने आज्ञा दिनुभयो । हाम्रो भाइ सलोफादको हिस्सा तिनका छोरीहरूलाई दिन परमप्रभुले तपाईंलाई आज्ञा गर्नुभएको थियो ।

3

तर यदि तिनका छोरीहरूले इस्राएलका मानिसहरूको अन्य कुलका पुरुषसँग विवाह गरे भने, भूमिको तिनीहरूको हिस्सा हाम्रा पुर्खाहरूको हिस्साबाट हट्ने छ । यो तिनीहरू सहभागी हुने कुलको हिस्सामा थपिने छ ।

4

यस अवस्थामा यो हाम्रो अंशको तोकिएको हिस्साबाट हट्ने छ । त्यस अवस्थामा इस्राएलका मानिसहरूको पुनर्स्थापनाको वर्ष आउँदा तिनीहरूको हिस्सा तिनीहरू जोडिने कुलमा नै गाभिने छ । यसरी तिनीहरूको हिस्सा हाम्रो पुर्खाको कुलको हिस्साबाट लगिने छ ।”

5

त्यसैले मोशाले परमप्रभुको वचनमा इस्राएलका मानिसहरूलाई आज्ञा दिए, “योसेफका सन्तानहरूका कुलले भनेको कुरा सही हो ।

6

सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।'

7

इस्राएलका मानिसहरूको कुनै पनि अंश एउटा कुलबाट अर्कोमा बद्‍ली गर्नुहुँदैन । इस्राएलका मानिसहरूको हरेक कुलले आ-आफ्नो पुर्खाको कुलको अंशलाई निरन्तरता दिनुपर्छ ।

8

आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् ।

9

कुनै पनि हिस्सा एउटा कुलबाट अर्कोमा बद्ली गर्नुहुँदैन । इस्राएलका मानिसको कुलको हरेकले आ-आफ्नो अंश सुरक्षित राख्‍नुपर्छ ।”

10

त्यसैले सलोफादका छोरीहरूले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे ।

11

सलोफादका छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआहले मनश्शेका सन्तानहरूसँग विवाह गरे ।

12

तिनीहरूले योसेफका छोरा मनश्शेका सन्तानहरूका कुलहरूमा विवाह गरे । यसरी तिनीहरूको हिस्सा तिनीहरूको पिताको कुलभित्र नै रह्यो ।

13

परमप्रभुले मोशाद्वारा यरीहोमा यर्दन नजिक मोआबको मैदानमा इस्राएलका मानिसहरूलाई दिनुभएका आज्ञाहरू र नियमहरू यिनै हुन् ।