Verse 1
¶ मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
Verse 2
मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो ।
Verse 3
धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो ।
Verse 4
यिनीहरू जसले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।
Verse 5
तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
Verse 6
तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो ।
Verse 7
तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
Verse 8
अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
Verse 9
अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,
Verse 10
उसले पनि परमेश्वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
Verse 11
तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।
Verse 12
पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्वास राख्छन् ।”
Verse 13
मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
Verse 14
मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो ।
Verse 15
त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ ।”
Verse 16
तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, र पृथ्वीमा कटनी भयो ।
Verse 17
स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो ।
Verse 18
अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।”
Verse 19
ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए ।
Verse 20
सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।