← Back
←Previous: revelation 15
Chapter 16
Next: revelation 17→

Verse 1

¶ मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”

Verse 2

पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।

Verse 3

दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।

Verse 4

तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए ।

Verse 5

पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो ।

Verse 6

किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”

Verse 7

वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”

Verse 8

चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।

Verse 9

तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्‍चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।

Verse 10

पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए ।

Verse 11

तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्‍वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।

Verse 12

छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।

Verse 13

मैले अजिङ्गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ ।

Verse 14

किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।

Verse 15

“हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्‍त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्‍न नपरोस् ।”

Verse 16

तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।

Verse 17

तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”

Verse 18

त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्‍टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।

Verse 19

त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्‍ट भए । अनि परमेश्‍वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो ।

Verse 20

हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् ।

Verse 21

आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्‍वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो ।

←Previous: revelation 15
Chapter 16
Next: revelation 17→