Verse 1
¶ “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
Verse 2
उठ र जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्वरको दृष्टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ ।
Verse 3
त्यसकारण, जुन कुरा तिमीले प्राप्त गर्यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्नेछैनौ ।
Verse 4
तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् ।
Verse 5
जसले जित्छ, उसलाई सेतो वस्त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
Verse 6
आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”
Verse 7
“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
Verse 8
तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।
Verse 9
हेर, जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झुट बोलिरहेका छन् । म तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्नेछन् ।
Verse 10
तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।
Verse 11
म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
Verse 12
जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्वरको सहरको नाउँ, मेरा परमेश्वरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
Verse 13
मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”
Verse 14
“लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्वरका सृष्टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।
Verse 15
मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ ।
Verse 16
त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु ।
Verse 17
किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।
Verse 18
मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्नलाई चम्किलो सेतो वस्त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्न सक ।
Verse 19
मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्चात्ताप गर र इमानदार होऊ ।
Verse 20
हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।
Verse 21
जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।
Verse 22
मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”