1¶ पछि यस्तो भयो, अम्मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।
2दाऊदले भने, “तिनका बुबा नाहाशेले मलाई दया देखाएझैँ, म नाहाशका छोरा हानूनलाई दया देखाउने छु ।” त्यसैले दाऊदले तिनका बुबाको सम्बन्धमा हानूनलाई सान्त्वना दिन आफ्ना सेवकहरूलाई पठाए । तिनका सेवकहरू अम्मोनको मानिसहरूको देशमा पसे ।
3तर अम्मोनका मानिसहरूका अगुवाहरूलले आफ्ना मालिक हानूनलाई भने, “के साँच्चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्चै विचार गर्नुहुन्छ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र?”
4त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका दाह्री आधा खौरे, तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाए ।
5जब तिनीहरूले यो कुरा दऊदलाई बताए, तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए, किनकि यी मानिसहरू साह्रै लज्जित भएका थिए । राजाले भने, “तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस र त्यसपचि फर्क ।”
6जब अम्मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्ने थाहा पाए, अम्मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।
7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।