7यसकारण मेरो निम्ति सुन, चाँदी, काँसा र फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्ने एक जना निपुण कारीगर पठाइदिनुहोस्। तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्ने मानिस पनि होऊन् । तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा र यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन् ।
8मलाई लेबनानबाट देवदारु, सल्ला र चन्दनका काठहरू पनि पठाइदिनुहोस्, किनकि मलाई थाहा छ कि तपाईंका सेवकहरूले लेबनानमा काठहरू कसरी काट्नुपर्छ भनी जान्दछन् । हेर्नुहोस्, मेरा सेवकहरू तपाईंका सेवकहरूसित हुनेछन्,
9ताकि मेरो निम्ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्दिर महान् र आश्चर्यको हुनेछ।
10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”
11टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए: “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभयो ।”
12साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्वर धन्यका होउन्, जसले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान् छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल बनाउनुहुनेछ ।
13अब मैले एक जना सिपालु मानिस हुराम-अब्बीलाई पठाएको छु, जससँग सुझबुझको वरदान छ ।