6रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बिस हजार सिपाहीलाई मारे, र ती सबै जना शक्तिशाली योद्धा थिए, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।
7जिक्री नामको एक जना वीर एफ्राइमीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजापछिका मुख्य व्यक्ति एल्कानालाई मारे ।
8तिनीहरूका आफन्तबाट दुई लाख पत्नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्याए ।
9तर त्यहाँ ओदेद नामका परमप्रभुका एक अगमवक्ता थिए । तिनी सामरियामा फर्किरहेको फौजलाई भेट्न गए । तिनले तिनीहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनुभयो । तर तिमीहरूले चाहिं रीसमा तिनीहरूको संहार गर्यौ, जो स्वर्गसम्मै पुग्यो ।