19भयानक दुःखकष्ट, चिन्ह, आश्चर्य, शक्तिशाली हात र फैलिएको पाखुरा जसद्वारा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुभयो, सो तिमीहरूका आँखाले देख्यौ । तिमीहरू डराएका ती सबै जातिलाई पनि परमप्रभु तिमीहरूका परमेश्वरले त्यसै गर्नुहुने छ ।
20यसबाहेक, परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरू बाँकी रहुञ्जेलसम्म र तिमीहरूको उपस्थितिबाट नष्ट नहोस् भनी तिनीहरू लुकेसम्म तिनीहरूका बिचमा अरिङ्गाल पठाउनुहुने छ ।
21तिनीहरूदेखि नडराओ किनकि परमप्रभु परमेश्वर तिमीहरूका बिचमा हुनुहुन्छ जो महान् र भययोग्य हुनुहुन्छ ।
22परमप्रभु परमेश्वरले तिमीहरूकै सामुन्ने तिनीहरूलाई अलिअलि गरेर धपाउनुहुने छ । तिमीहरूले तिनीहरूलाई एकै चोटि पराजित गर्ने छैनौ नत्रता जङ्गली जनावरहरू तिमीहरूका बिचमा धेरै हुने छन् ।
23तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुने छ ।
24उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने छ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ । तिनीहरूलाई नष्ट नगरुञ्जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन ।