7शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूको व्यवहार यस्तै हो भने, म तिमीहरूका विरुद्ध बदला लिनेछु, र त्यसो गरेपछि मात्र म रोकिनेछु ।”
8तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्रा-टुक्रा गरी काटे र धेरैको हत्या गरे । त्यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे ।
9त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।
10तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्यसलाई त्यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”
11तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”
12तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”
13तिनीहरूले तिनलाई भने, “हामी तिमीलाई केवल डोरीले बाँध्नेछौं र तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौं । हामी यो प्रतिज्ञा गर्छौं, कि हामी तिमीलाई मार्नेछैनौं ।” यसैले तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र त्यस चट्टानबाट माथि ल्याए ।