5एज्रा सारा मानिसभन्दा माथि उभिएकाले तिनले सबैले देख्ने गरी पुस्तक खोले, र तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए ।
6एज्राले महान् परमेश्वर परमप्रभुलाई धन्यावाद दिए, अनि सारा मानिसले आ-आफ्ना हात उठाएर “आमेन! आमेन!” भने । तब तिनीहरूले आ-आफ्ना शिर झुकाए, र भुइँसम्मै निहुरेर परमप्रभुको आराधना गरे ।
7लेवीहरू येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले मानिसहरूलाई तिनीहरूकै ठाउँमा व्यवस्था बुझ्नलाई मदत गरे ।
8तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्वरको व्यवस्था पढे र मानिसहरूले बुझ्न सक्ने गरी अर्थ खोलिदिए ।
9राज्यपाल नहेम्याह, पुजारीसाथै शास्त्री एज्रा र मानिसहरूलाई अर्थ खोलिदिने लेवीहरूले सारा मानिसलाई भने, “यो दिन परमप्रभु तिमीहरूका परमेश्वरका लागि पवित्र दिन हो । शोक नगर र नरोओ ।” किनकि तिनीहरूले व्यवस्थाका वचन सुन्दा सारा मानिस रोएका थिए ।