1

¶ सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।

2

त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।

3

तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन ।

4

मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।

5

त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।

6

त्यसकारण, आफैँलाई उहाँको शक्‍तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुभएको होस् ।

7

तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ ।

8

सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।

9

त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् ।

10

तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।

11

सबै शक्‍ति सदा सर्वदा उहाँकै होस् । आमेन ।

12

म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ ।

13

तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

14

प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।