1

¶ जब पलिश्‍तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्‍थानमा छन् ।”

2

त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्‍न घोरलको चट्टानमा गए ।

3

तिनी बाटोमा भेडा-गोठहरूमा आए जहाँ एउटा गुफा थियो । शाऊल दिसा गर्न भित्र गए । दाऊद र तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए ।

4

दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्‍त्रको छेउ काटे ।

5

पछि दाऊदको हृदयमा कष्‍ट भयो किनभने तिनले शाऊलको वस्‍त्रको छेउ काटेका थिए ।

6

तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुका अभिषिक्‍त जन, उहाँ परमप्रभुका अभिषिक्‍त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्‍नुभएको होस् ।”

7

त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्‍काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।

8

पछि दाऊद पनि उठे, गुफा बाहिर गए र शाऊललाई कराएर भनेः “हे मेरो मालिक महाराजा ।” जब शाऊलले पछाडी फर्केर हेरे, दाऊद भुइँमा घोप्टो परे र उनलाई आदर गरे ।

9

दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

10

तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'

11

हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्‍त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ ।

12

तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।

13

जस्‍तो पुरानो उखान छ, 'दुष्‍टबाट नै दुष्‍टता निस्‍कन्‍छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।

14

इस्राएलका राजा कसको पछि आएका छन्? कसलाई तपाईंले खेद्‍दै हुनुहुन्छ? एउटा मरेको कुकुरलाई होइन र! एउटा उपियाँलाई होइन र!

15

परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् ।

16

जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, “मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” शाऊलले डाँको छोडेर रोए ।

17

तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।

18

तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ ।

19

किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्‍यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् ।

20

अब मलाई थाहा भयो कि तिमी साँच्‍चै नै राजा हुनेछौ र इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ ।

21

तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ ।

22

त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।