1

¶ ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्‍पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः

2

“पृथ्वीमा भएका सबै परिवारहरूबाट, मैले केवल तिमीहरूलाई छानेको छु । त्यसकारण तिमीहरूका सबै पापहरूका निम्‍ति, म तिमीहरूलाई दण्ड दिनेछु ।”

3

सहमत नभएसम्म दुई जना सँगै हिंड्छन् र?

4

जङ्गलको सिंहले कुनै सिकार नपाउँदा पनि, के त्यो गर्जन्छ र? जवान सिंहले आफ्नो ओडारमा केही फेला नपारेसम्म, के त्यो ङ्‍यार्रङ्‍यार् गर्छ र?

5

चराको निम्ति चारो नराखेसम्म के त्यो भुइँमा भएको पासोमा पर्छ र? पासोले केही कुरा समाउन नपाउँदा पनि के त्यो भुइँबाट माथि उफ्रिन्‍छ र?

6

सहरमा तुरही बज्यो भने, के त्यहाँका मानिसहरू थर-थर काम्दैनन् र? सहरलाई प्रकोपले नाश गर्दा, त्यो परमप्रभुले नै पठाउनुभएको होइन र?

7

निश्‍चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन ।

8

सिंह गर्जेको छ । को डराउनेछैन र? परमप्रभु परमेश्‍वर बोल्‍नुभएको छ । कसले अगमवाणी बोल्दैन र?

9

अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

10

किनभने ठिक काम कसरी गर्ने सो तिनीहरू जान्दैनन् — यो परमप्रभुको घोषणा हो— तिनीहरूले आफ्ना किल्लाहरूमा हिंसा र विनाश संचित गर्छन् ।”

11

यसैकारण, परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।”

12

परमप्रभु यस्तो भन्‍नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।”

13

याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ— यो सर्वशक्‍तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

14

“किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्‍ड दिनेछु । वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्‍नेछन् ।

15

म हिउँदमा बस्‍ने घरलाई गर्मीमा बस्‍ने घरसँगै नाश गर्नेछु । हस्तिहाडका घरहरू नाश हुनेछन्, र ठुला-ठुला घरहरू लोप हुनेछन् — यो परमप्रभुको घोषणा हो ।”