1

¶ ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।

2

कुमारी इस्राएल पतन भएकी छ, त्यो फेरि उठ्‍नेछैन, त्यो आफ्नै भूमिमा त्यागिएकी छ, त्यसलाई उठाउने त्यहाँ कोही छैन ।

3

किनभने परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छः “इस्राएलको घरानामा भएकाका, एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन्, र सय जना लिएर निस्केको सहरमा दस जना बाँकी हुनेछन् ।”

4

किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्‍नुहुन्छः “मेरो खोजी गर र जीवित रहो!

5

बेथेलको खोजी नगर, न त गिलगालमा प्रवेश गर, बेर्शेबातर्फ यात्रा नगर । किनभने गिलगाल निश्‍चय नै कैदमा जानेछ, र बेथेल शून्‍य हुनेछ ।

6

परमप्रभुको खोजी गर र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोझैं दन्‍कनुहुनेछ । त्यसले भस्म पार्नेछ र बेथेलमा त्यसलाई निभाउने कुनै व्‍यक्‍ति हुनेछैन ।

7

ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्‍छन्!”

8

परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो ।

9

उहाँले बलियामाथि एक्‍कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् ।

10

सहरको मूलद्वारमा तिनीहरूलाई ठिक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन्,र सत्य बोल्नेलाई कुनै पनि व्‍यक्‍तिलाई तिनीहरू उपहास गर्छन् ।

11

किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।

12

किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी म जान्‍दछु— तिमीहरू जसले धर्मीलाई कष्‍ट दिन्छौ, घूस लिन्छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्‍यायहरण गर्छौ

13

यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो ।

14

असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्‍नेछौ । यसरी तिमीहरूले भनेझैं, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, साँच्‍चै नै तिमीहरूसँग हुनुहुनेछ ।

15

दुष्‍टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्याय कायम गर । सायद परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ ।

16

यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार! धिक्‍कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।

17

सबै दाखबारीहरूमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बिचबाट भएर जानेछु,” परमप्रभु भन्‍नुहुन्छ ।

18

परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्‍कार! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ,

19

जसरी कोही मानिस एउटा सिंहबाट भाग्‍छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात्‌ ऊ कुनै घरभित्र जान्‍छ र आफ्नो हात भित्तामा राख्‍छ अनि एउटा सर्पले उसलाई डस्‍छ ।

20

के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्‍यालो नभएको?

21

“म तिमीहरूका चाडहरूलाई घृणा गर्दछु, म तिरस्कार गर्दछु, तिमीहरूका धार्मिक सभाहरूमा म खुसी हुन्‍नँ ।

22

तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु ।

23

तिमीहरूका गीतहरूको हल्‍ला मबाट हटाओ । तिमीहरूका वीणाहरूका धुन म सुन्‍नेछैनँ ।

24

बरु, इन्साफ पानीझैं बगोस्, र धार्मिकताचाहिं निरन्तर बगिरहने खोलाझैं होस् ।

25

ए इस्राएलको घराना, चालिस वर्ष मरुभूमिमा हुँदा, के तिमीहरूले मेरो निम्ति बलिदानहरू र भेटीहरू ल्यायौ र?

26

तिमीहरूले आफ्ना राजा सिक्‍कुथ, र आफ्‍ना तारा-देवता काइवानको मूर्ति खडा गरेका छौ, जसलाई तिमीहरूले आफ्ना निम्‍ति बनायौ ।

27

यसकारण म तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो ।