1

¶ त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।

2

तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्‍ने छु, र तैँले तिनलाई सन्दुकमा राख्‍नू ।'

3

त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।

4

पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो ।

5

म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”

6

(इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।

7

त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।

8

त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्‍न उहाँले लेवी कुललाई छान्‍नुभयो जस्तो आजसम्म चलिआएको छ ।

9

त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)

10

पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।

11

परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'

12

अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;

13

परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।

14

हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन् ।

15

परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्‍नुभयो जस्तो तिमीहरू देख्छौ ।

16

त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।

17

किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न ।

18

उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्‍त्र दिएर प्रेम देखाउनुहुन्छ ।

19

त्यसकारण परदेशीलाई प्रेम गर । किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ ।

20

परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।

21

उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्‍ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।

22

तिमीहरूका सत्तरी जना पिता-पुर्खा मिश्रमा गएका थिए । अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको छ ।