1

¶ लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा प्रवेश गर्न निदनू ।

2

कुनै अवैध बच्‍चा परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।

3

अम्मोनी वा मोआबी परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।

4

किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्, र तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्‍ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए ।

5

तर परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन । बरु, तिमीहरूका परमेश्‍वरले श्रापलाई आशिष्‌मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो ।

6

तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्‍नतिको खोजी नगर्नू ।

7

तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू । कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ ।

8

तिनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू परमप्रभुको सभामा पस्‍न सक्छन् ।

9

तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्‍ट कुराहरूबाट अलग राख ।

10

तिमीहरूका बिचमा रातम कुनै पुरुष स्वप्‍न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो सेनाको छाउनीबाट बाहिर जाओस् र छाउनीमा फर्केर नआओस् ।

11

साँझ परेपछि त्यसले पानीले नुहाओस् । सूर्य अस्ताएपछि त्यो छाउनीमा आओस् ।

12

छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ ।

13

खन्‍नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ । दिसा बसिसकेपछि खाल्डो खनेर दिसा पुरिदिनू ।

14

किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ । त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस् ।

15

आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू ।

16

त्यसले जुनसुकै सहर छाने तापनि त्यसलाई तिमीहरूसँगै बस्‍न दिनू । त्यसलाई थिचोमिचो नगर्नू ।

17

इस्राएलीका छोरीहरू र छोराहरूका बिचमा कसैले पनि मन्दिरको वेश्यावृत्तिमा काम नगरोस् ।

18

तिमीहरूले कुनै भाकलको निम्ति वेश्यावृत्तिको ज्याला वा कुकुरको ज्याला परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा नल्याउनू । किनकि यी दुवै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित कुराहरू हुन् ।

19

ब्याज प्राप्‍त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू ।

20

परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ । तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन । यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस् ।

21

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भाकल गर्दा यसलाई पुरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट यो चाहनुहुन्छ । भाकल पुरा नगर्नु पाप हो ।

22

तर भाकलै गरेका छैनौ भने यो तिमीहरूका लागि पाप हुँदैन ।

23

परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पुरा गर्नुपर्छ ।

24

तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल ।

25

तिमीहरू आफ्नो छिमेकीको अन्‍न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्‍नका बाला टिप्‍न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।