1

¶ आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ ।

2

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने यी सबै आशिष् तिमीहरूमा आउने छन् ।

3

तिमीहरू सहरमा आशिषित् हुने छौ र खेतमा आशिषित् हुने छौ ।

4

तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि

5

आशिष् पर्ने छ ।

6

तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा आशिष् पर्ने छ । तिमीहरू भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउने छौ ।

7

तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् ।

8

परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने छ । उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ ।

9

परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।

10

तिमीहरू परमप्रभुको नाउँद्वारा डाकिएका छौ भनी पृथ्वीका सबै जातिले थाहा पाउने छन्, र तिनीहरू तिमीहरूदेखि डराउने छन् ।

11

परमप्रभुले तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी र तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्‍नति गराउनुहुने छ ।

12

ठिक समयमा वृष्‍टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने छ । तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ ।

13

परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुने छ, पुच्छर होइन । तिमीहरू केवल माथि हुने छौ, तल होइन । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न र मान्‍न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने,

14

र आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ र बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने तिमीहरूले आशिष् पाउने छौ ।

15

तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।

16

तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ ।

17

तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ ।

18

तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।

19

तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ ।

20

तिमीहरूले दुष्‍ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्‍ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ ।

21

तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ ।

22

परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुने छ । तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन् ।

23

तिमीहरूको शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको पृथ्वी फलाम हुने छ ।

24

परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ ।

25

परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।

26

तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन ।

27

परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ ।

28

परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ ।

29

अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ, तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन ।

30

तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।

31

तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।

32

तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।

33

तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।

34

यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ ।

35

परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ ।

36

परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ ।

37

परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्‍ने छौ ।

38

तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।

39

तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् ।

40

तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् ।

41

तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।

42

तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्‍ट गरिदिने छन् ।

43

तिमीहरूको बिचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि उठ्ने छ । तर तिमीहरूचाहिँ तल-तल झर्ने छौ ।

44

त्यसले तिमीहरूलाई ऋण दिने छ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ । त्यो शिर हुने छ भने तिमीहरू पुच्छर हुने छौ ।

45

यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ ।

46

चिन्ह र आश्‍चर्यको रूपमा यी श्रापहरू तिमीहरू र तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्ने छन् ।

47

तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले

48

परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ ।

49

परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ ।

50

यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन ।

51

तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।

52

तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् ।

53

तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ ।

54

तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन ।

55

तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन ।

56

तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,

57

अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।

58

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने

59

परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने छ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुने छन् ।

60

मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ ।

61

ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ ।

62

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने छ ।

63

तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ ।

64

परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ ।

65

यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ ।

66

तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने छ । तिमीहरू हरेक दिन र रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन ।

67

तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ ।

68

परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने छ जुन बाटोको बारेमा उहाँले भन्‍नुभएको थियो, 'तिमीहरूले फेरि मिश्र देख्‍ने छैनौ ।' त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ, तर कसैले तिमीहरूलाई किन्‍ने छैन ।