1

¶ यो आफ्नो मृत्युअगि परमेश्‍वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो ।

2

तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।

3

वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे ।

4

मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो ।

5

तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो ।

6

रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन् ।

7

यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस् ।

8

लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो ।

9

तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए ।

10

तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् ।

11

हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् ।

12

बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् । परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ, र तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन् ।

13

योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् ।

14

तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् ।

15

साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।

16

तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।

17

ऐश्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍ने छन् । यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् ।

18

जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ ।

19

तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् । त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन् ।

20

गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन् । त्यहाँ तिनी सिंहिनीझैँ बस्‍ने छन्, र तिनले मुखियाको पाखुरा लुछिदिने छन् ।

21

तिनले आफ्नो निम्ति सबैभन्दा उत्तम जग्गा छाने, किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो । तिनी मानिसहरूका अगुवाहरूसँगै आए । तिनले इस्राएलसितै परमप्रभुको न्याय र उहाँका विधिहरू पुरा गरे ।

22

दानको विषयमा मोशाले भनेः दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो ।

23

नप्‍तालीको विषयमा मोशाले भनेः नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता र स्‍नेहद्वारा सन्तुष्‍ट भएका छन् । तिनले पश्‍चिम र दक्षिणको देश अधिकार गर्ने छन् ।

24

आशेरको विषयमा मोशाले भनेः आशेर अन्य छोराहरूमध्ये सबैभन्दा बढी आशिषित् होऊन् । तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन्, र तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन् ।

25

तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्‍जेसम्म तिम्रो सुरक्षा हुने छ ।

26

यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।

27

अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, “नाश पार्!”

28

इस्राएल सुरक्षामा बस्यो । अन्‍न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् ।

29

ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।