1

¶ मोशा मोआबको मैदानबाट यरीहो सामुन्‍ने नेबो डाँडामा पिसगाको टाकुरामा उक्ले । त्यहाँ परमप्रभुले तिनलाई गिलाददेखि दानसम्म,

2

र सबै नप्‍ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्‍चिम समुद्रसम्म,

3

र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो ।

4

परमप्रभुले तिनलाई भन्‍नुभयो, “'म यो देश तेरा सन्तानहरूलाई दिन्छु' भनी मैले अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई तेरा आँखाले हेर्न अनुमति दिएको छु, तर तँ त्यहाँ जान पाउने छैनस् ।”

5

त्यसैले परमप्रभुको वचनको प्रतिज्ञाअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।

6

परमप्रभुले तिनलाई बेथ-पोरको सामुन्‍ने मोआब देशको उपत्यकाको बेँसीमा गाड्नुभयो, तर तिनको चिहान कहाँ छ भनी आजको दिनसम्म कसैलाई थाहा छैन ।

7

मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए । तिनका आँखा धमिला भएका थिएनन् न त तिनको स्वाभाविक बल घटेको थियो ।

8

मोआबको मैदानमा इस्राएलीहरूले मोशाको निम्त चालिस दिनसम्म शोक गरेपछि तिनको शोकको समय सकियो ।

9

नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिएका थिए किनकि मोशाले तिनीमाथि आफ्नो हात राखेका थिए । इस्राएलीहरूले तिनको कुरा सुन्थे, र तिनले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार गर्थे ।

10

इस्राएलमा मोशाजस्तै अगमवक्ता कोही खडा भएन जसलाई परमप्रभुले आमने-सामने चिन्‍नुहुन्थ्यो ।

11

मिश्र देश, फारो र तिनका सबै अधिकारीसाथै तिनका समस्त देशमा तिनीद्वारा सबै चिन्ह र आश्‍चर्य गर्न परमप्रभुद्वारा पठाइएका कुनै पनि अगमवक्ता तिनीजस्तो छैन ।

12

सारा इस्राएलीको दृष्‍टिमा मोशाले गरेजस्तै महान् र भयानक कामहरू कुनै पनि अगमवक्ताले कहिल्यै गरेको छैन ।