¶ यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु ।
ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।
आत्माको एकतालाई शान्तिको बन्धनमा राख्नलाई उत्कृष्ट तरिकाले प्रयत्न गर ।
शरीर एउटै छ र आत्मापनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै निश्चित आशामा बोलाइएका थियौ ।
प्रभु एउटै हुनुहुन्छ, विश्वास एउटै हो, र बप्तिसमा पनि,
र सबैका पिता, परमेश्वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
हामी हरेकलाई ख्रीष्टको वरदानको नापअनुसार वरदान दिइएको छ ।
जसरी धर्मशास्त्रले भन्दछः “जब उहाँ उच्च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”
“उहाँ उच्च स्थानमा जानुभयो” भन्ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो?
उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।
ख्रीष्टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।
ख्रीष्टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।
विश्वासको एकता र परमेश्वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ ।
हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।
बरु हामी प्रेममा सत्य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ ।
ख्रीष्टले विश्वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ ।
त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।
तिनीहरू विचारमा अन्धा भएका छन् । तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्वरको जीवनबाट अलग गरिएका छन् ।
तिनीहरूमा शर्म छैन । अशुद्ध कुराहरूमाथि कामुकता र हर किसिमका लालचमा तिनीहरूले आफैँलाई सुम्पिदिएका छन् ।
तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्टको बारेमा जानेका होइनौ ।
तिमीहरूले येशूको बारेमा सुनेका छौ भनी म ठान्दछु । ख्रीष्टमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका छौ भनी म ठान्दछु ।
तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्ट भइरहेका छौ ।
तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग ।
परमेश्वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो ।
त्यसैले असत्यतालाई त्याग । “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ ।
“रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ ।
दुष्टलाई मौका नदेओ ।
चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् ।
तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।
र परमेश्वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ ।
सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्टता तिमीहरूले त्याग्नुपर्छ ।
एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्टमा परमेश्वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।