1

¶ त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।

2

राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।

3

तब एस्तरले फेरि राजासित कुरा गरिन् । उनले भुइँतिर शिर झुकाइन्, र अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्‍त्र, खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्ती गरिन् ।

4

राजाले एस्तरतिर सुनको राजदण्ड पसारे, तब उनी उठिन् र राजाको सामु खडा भइन् ।

5

उनले भनिन्, “राजालाई खुसी लागेमा, र मैले हजुरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठिक लाग्‍छ भने, र हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्‍ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस् ।

6

किनकि मेरो जातिमाथि आइपर्ने विपत्ती देख्‍दा म कसरी सहन सक्छु? मेरा नातेदारहरूको विनाश हेर्ने कुरा मैले कसरी सहन सक्छु?”

7

राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।

8

राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे र त्यसमा राजाको औँठीले छाप लगाओ । किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन ।”

9

तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेइसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो । यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशलाई समावेश गर्दै एउटा आदेश लेखियो । भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताइस प्रान्तका गभर्नरहरू, स्‍थानीय गभर्नरहरू र अधिकारीहरूलाई हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो ।

10

मोर्दकैले राजा अहासूरसको नाउँमा त्‍यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए । राजको सेवामा प्रयोग गरिने छिटो कुद्‍ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए ।

11

हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन र आ-आफ्नो जीवनको रक्षाको निम्‍ति संगठित हुन, अनि तिनीहरू, बालबालिका, र स्‍त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्‍त्र मानिसहरूलाई नाश गर्न, मार्न र नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए ।

12

बाह्रौँ महिना वा अदार महिनाको तेह्रौँ दिनमा राजा अहासूरसका सबै प्रान्तमा यसलाई कार्यान्वयन गरिनुपर्थ्यो ।

13

यो आदेशको एकप्रति नक्‍कल कानुनको रूपमा जारी भयो र सबै मानिसकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो । त्यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो ।

14

त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए । तिनीहरू ढिलो नगरी गए । राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो ।

15

तब मोर्दकैले निलो र सेतो राजकीय पोशाकहरू पहिरिए अनि सुनको ठुलो मुकुट पहिरिए र, मलमलको बैजनी वस्‍त्र लगाए र राजाको उपस्थितिबाट गए, अनि शूशन सहरले जयजयकार गर्‍यो र आनन्द मनायो ।

16

यहूदीहरू खुसी र प्रसन्‍न भए अनि तिनीहरूका निम्ति आनन्द र सम्मानको दिन भयो ।

17

राजाको आदेश पुगेको हरेक प्रान्त र सहरमा यहूदीहरूका माझमा खुसी र आनन्द अनि भोज र बिदाको दिन भयो । देशमा अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए किनकि तिनीहरूमाथि यहूदीहरूको डर परेको थियो ।