1

¶ तिनीहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो । एउटा बाछा र दुईवटा निष्खोट भेडा लिएर आइज ।

2

अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौला अनि तेल दलेको खमिरविनाको बाबर पनि लिएर आइज ।

3

बाबरहरू मसिनो गहुँको पिठोको प्रयोग गरी बनाउनू । तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे र दुईवटा भेडासँगै ती ल्याउनू ।

4

तैँले भेट हुने पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूलाई उपस्थित गरा । हारून र त्यसका छोराहरूलाई पानीले नुहाइदिनू ।

5

आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू ।

6

त्यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू ।

7

त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर् ।

8

त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू ।

9

हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।

10

तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि हात राख्‍नेछन् ।

11

तैँले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको सामु त्यस बाछोलाई मार्नू ।

12

बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सिङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्याइदिनू ।

13

आन्द्रा-भुँडी ढाक्‍ने सबै बोसो र कलेजो ढाक्‍ने मासु अनि दुईवटा मिर्गोलासाथै तिनमा भएका बोसोसमेत लिएर ती सबैलाई वेदीमा जलाइदिनू ।

14

तर बाछोको मासु, यसको छाला र गोबरचाहिँ छाउनीबाहिर लगेर जलाइदिनू । यो पापबलि हो ।

15

तैँले एउटा भेडा पनि लिनू अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।

16

भेडालाई मारेर त्यसको रगत वेदीका चारैतिर छर्कनू ।

17

त्यस भेडालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी, त्यसका टुक्राहरू र टाउकोसमेत

18

वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।

19

त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।

20

अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।

21

तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।

22

तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो ।

23

परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू ।

24

तैँले यी सबै हारूनका हात र त्यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू ।

25

त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्‍ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।

26

हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू, र योचाहिँ तेरो भाग हुनेछ ।

27

तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।

28

यो हारून र त्यसका छोराहरूका लागि अनन्तको विधि हुनेछ । इस्राएलका मानिसहरूले तिनीहरूका मेलबलिबाट परमप्रभुलाई दिनुपर्ने भाग यही हो ।

29

हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्‍नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू ।

30

हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।

31

मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।

32

हारून र त्यसका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन् ।

33

मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्‍चित्त गर्न र नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु, रोटी तिनीहरूले खाऊन् । त्यो खाना कसैले नखाओस् किनकि त्यो मेरो निम्ति अर्पण गरिएको र मलाई छुट्ट्याइएको खाना हो ।

34

अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्‍यो भने त्यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।

35

यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।

36

हरेक दिन प्रायश्‍चित्तको लागि तैँले एउटा बाछो पापबलिको रूपमा चढाउनू । वेदीको लागि प्रायश्‍चित्त गरेर तैँले यसलाई शुद्ध पार्नू, र यसलाई मेरो लागि अलग गर्न यसलाई अभिषेक गर्नू ।

37

सात दिन लगाएर वेदीको लागि प्रायश्‍चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।

38

तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुईवटा थुमा चढाउनू ।

39

एउटा थुमा बिहान चढाइनुपर्छ भने अर्को बेलुका ।

40

पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू ।

41

तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।

42

मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता-पुस्तासम्म यी नियमित होमबलिहरू होऊन् ।

43

म इस्राएलीहरूसित त्यहीँ नै भेट गर्नेछु । मेरो महिमाद्वारा पाल मेरो लागि अलग गरिनेछ ।

44

म भेट हुने पाल र मेरो लागि मात्र प्रयोग हुने वेदीलाई पवित्र पार्नेछु । पुजारी भएर मेरो सेवा गर्नका निम्ति हारून र त्यसका छोराहरूलाई पनि म पवित्र पार्नेछु ।

45

म इस्राएलीहरूका बिचमा बस्‍नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु ।

46

म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन् । म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।