1

¶ जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलाइ गरेको देखे तिनीहरू हारूनको वरिपरि भेला भई तिनलाई भने, “हाम्रो अगिअगि जाने एउटा मूर्ति बनाऔँ । हामीलाई मिश्र देशबाट बाहिर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।”

2

त्यसैले हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली मकहाँ लेओ ।”

3

सबै मानिसले तिनीहरूका कानमा लगाएका कुण्डलहरू फुकाली हारूनकहाँ ल्याए ।

4

तिनले तिनीहरूबाट पाएको सुनलाई हतियारले खोपेर बाछाको एउटा मूर्ति बनाए । तब मानिसहरूले भने, “हे इस्राएल हो, मिश्रबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउने देव यिनै हुन् ।”

5

हारूनले यो देखेपछि तिनले बाछाको सामु एउटा वेदी बनाए र यस्तो घोषणा गरे, “भोलि परमप्रभुको आदरको लागि एउटा चाड हुनेछ ।”

6

भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए । तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्‍न लागे ।

7

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “चाँडै तल ओर्ली, किनकि तैँले मिश्र देशबाट बाहिर ल्याएका मानिसहरूले आफैलाई भ्रष्‍ट पारिसकेका छन् ।

8

मैले आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै विचलित भएका छन् । तिनीहरूले आफ्ना लागि गाईको मूर्ति बनाएर यसको पूजा गरेका छन् र बलिदान चढाएका छन् । तिनीहरूले भनेका छन् 'हे इस्राएल हो, मिश्र देशबाट तिमीहरूलाई बाहिर ल्याउने देव यिनै हुन्' ।”

9

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले यो जातिलाई देखेको छु । हेर्, तिनीहरू हठी मानिसहरू हुन् ।

10

अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”

11

तर मोशाले परमप्रभु तिनका परमेश्‍वरलाई शान्त पार्न खोजे । तिनले भने, “हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने?

12

मिश्रीहरूले किन यसो भन्‍ने, 'तिनीहरूलाई पर्वतमा लगेर मार्न र पृथ्वीको सतहबाट नष्‍ट गर्न उहाँले तिनीहरूलाई दुष्‍ट मनसाय लिएर बाहिर निकाल्नुभयो?' आफ्नो क्रोधलाई शान्त पार्नुहोस् र यो जातिलाई दण्ड दिनबाट मन बद्लनुहोस् ।

13

तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”

14

तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो ।

15

तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्ले । शिला-पाटीहरूका अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए ।

16

ती शिला-पाटीहरू परमेश्‍वरका आफ्नै काम थिए, र त्यो उहाँले नै खोपेर लेख्‍नुभएको थियो ।

17

यहोशूले मानिसहरू चिच्‍च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने, “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ त ।”

18

तर मोशाले भने, “यो विजेताको आवाज होइन, न त पराजितहरूको आवाज हो, तर म त गीत गाइरहेको आवाज सुन्दै छु ।”

19

जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे । तिनी बेसरी रिसाए । तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए ।

20

तिनले मानिसहरूले बनाएका त्यस बाछोलाई लिएर जलाइदिए अनि धुलोपिठो बनाएर पानीमा छरिदिए, अनि तिनले इस्राएलका मानिसहरूलाई त्यो पिउन लगाए ।

21

तब मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो?”

22

हारूनले भने, “मेरा मालिक, ममाथि हजुरको क्रोध नदन्कियोस् । तपाईं त यी मानिसहरूलाई जान्‍नुहुन्छ कि तिनीहरू खराबी गर्न उद्यत छन् ।

23

तिनीहरूले मलाई भने, 'हाम्रो अगिअगि जाने एउटा देव बनाऊ । हामीलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।'

24

तब मैले तिनीहरूलाई भनेँ, 'जो-जोसँग सुन छ, तिनीहरूले फुकालून् ।' तिनीहरूले मलाई सुन दिए र मैले त्यसलाई आगोमा फाल्दा यही बाछो बनेर आयो ।”

25

मानिसहरू छाडा भइसकेका थिए भनी मोशाले देखे (किनकि हारूनले तिनीहरूका शत्रुहरूका सामु हाँसोको पात्र हुन दिएर तिनीहरूलाई अनियन्त्रित हुन छाडिदिएका थिए) ।

26

तब मोशा छाउनीको प्रवेशद्वारमा खडा भएर भने, “जो-जो परमप्रभुपट्टि छन्, तिनीहरू मकहाँ आओ ।” सबै लेवी तिनको वरिपरि भेला भए ।

27

तिनले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको एक छेउदेखि अर्को छेउसम्म ढोका-ढोकासम्म गएर हरेकले आफ्ना भाइ, आफ्ना मित्र र छिमेकीलाई मार' ।”

28

मोशाले आज्ञा गरेमुताबिक लेवीहरूले गरे । त्यस दिन करिब तिन हजार मानिस मरे ।

29

मोशाले लेवीहरूलाई भने, “आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा र भाइको विरुद्धमा कारबाही गरेका छौ ।”

30

भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ । अब म परमप्रभुकहाँ उक्लेर जानेछु । सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि ।”

31

मोशा परमप्रभुकहाँ फर्केर आए र भने, “हाय! यी मानिसहरूले ठुलो पाप गरेका छन् र तिनीहरूले सुनको मूर्ति बनाएका छन् ।

32

तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस् । क्षमा गर्नुहुन्‍न भनेता तपाईंले लेख्‍नुभएको पुस्तकबाट मेरो नाउँ मेटिदिनुहोस् ।”

33

परमप्रभुले मोशालाई भन्‍नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, म मेरो पुस्तकबाट त्यसकै नाउँ मेटिदिनेछु ।

34

अब, गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा । हेर्, मेरा दूत तेरो अगिअगि जानेछन् । तर त्यस दिन तिनीहरूका पापका लागि म तिनीहरूलाई दण्ड दिनेछु ।”

35

हारूनले बनाएको बाछोको कारण परमप्रभुले मानिसहरूमाथि विपत्ति ल्याउनुभयो ।