1

¶ हाम्रो निर्वासनको पच्‍चीसौं वर्षमा, वर्षको सुरुमा, महिनाको दसौं दिनमा, सहर कब्जा भएको चौधौं वर्षमा, त्‍यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो ।

2

परमेश्‍वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्‍च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।

3

अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्‍थे । तिनको हातमा सूतीको डोरी र नाप्‍ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।

4

ती मानिसले मलाई भने, “ए मानिसको छोरो, आफ्नो आँखाले हेर् र आफ्नो कानले सुन्, र मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्‍नो मन लगा, किनकि तँलाई यहाँ ल्‍याइयो ताकि तँलाई म यी कुरा प्रकट गर्न सकूँ। तैंले देख्‍ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे ।”

5

त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो । ती मानिसको हातमा भएको नाप्‍ने लौरोको लमाइ छ हात लामो थियो । हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो । तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्‍ने लौरोजति चौडा र एक लौरो अग्लो थियो ।

6

त्‍यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो ।

7

रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।

8

तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो ।

9

तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।

10

त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।

11

त्‍यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्‍यो तेह्र हात थियो ।

12

ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्‍यो एक हात उच्‍च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।

13

तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्‍चीस हात थियो ।

14

रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे ।

15

ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो ।

16

ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्‍यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए ।

17

त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए ।

18

ढोकाहरूको छेउसम्म ती ढुङ्गाहरू छापिएका थिए, त्यसको चौडाइ ढोकाको लमाइझैं थियो । त्यो ढुङ्गाहरू छापिएका तल्लो भुइँ थियो ।

19

त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।

20

त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।

21

त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्‍चीस हात थियो ।

22

त्यसका झ्यालहरू, दलान, कोठाहरू र त्‍यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्‍दो थियो । त्यहाँ र त्यसको दलानसम्म सात खुट्किला थिए ।

23

उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्‍तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।

24

त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।

25

ढोकामा बन्द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए । दक्षिणको ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

26

त्यो ढोकाको र दलानसम्म सात खुट्किला थिए, र दुवैपट्टि पर्खालहरूमा खजुरको रूखको चित्र खोपिएका थिए ।

27

दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो ।

28

अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।

29

त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

30

भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्‍चीस हात र चौडाइमा पाँच हात थिए ।

31

यो दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो र त्यहाँसम्म आठवटा खुट्किला थिए ।

32

तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।

33

त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । भित्री ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

34

त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो । त्यसको दुवैपट्टि खजुरको रूखहरूका चित्र थियो र त्यहाँसम्म आठ खुट्किला थिए ।

35

त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो ।

36

त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।

37

त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसको दुवै पट्टि खजूरको रूखहरूका चित्र थिए र त्यहाँसम्म आठ खुट्किला थिए ।

38

सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।

39

हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो ।

40

चोकको पर्खालको छेउमा, उत्तरको ढोकातर्फ दुईवटा टेबल थिए । ढोकाको दलानको अर्कोपट्टि पनि दुईवटा टेबल थिए ।

41

ढोकाको छेउमा दुवैपट्टि चार-चारवटा टेबल थिए । त्यहाँ तिनीहरूले आठवटा टेबलमा पशुहरूलाई मार्थे ।

42

त्यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए । त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे ।

43

दलानको चारैतिर चार-अङ्कुल चौडा दुईवटा चुच्‍चा भएका अङ्कुसेहरू बाँधिएका थिए, र बलिको मासु टेबलहरूमाथि राखिन्थे ।

44

भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो ।

45

तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्‍छन् ।

46

उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।”

47

अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्‍दिरको अगाडि थियो ।

48

अनि ती मानिसले मलाई मन्‍दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए ।

49

दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।