1

¶ त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।

2

हेर, इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आयो । उहाँको आवाज धेरै पानीको झैं थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो ।

3

त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्‍तो थियो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।

4

यसरी पूर्वपट्टि खोलिएको ढोकाको बाटोबाट परमप्रभुको महिमा मन्‍दिरभित्र आयो ।

5

तब आत्माले मलाई उचाल्‍नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्‍दिरलाई भरिरहेको थियो ।

6

ती मानिस मेरो छेउमा खडा थिए, र मैले मन्‍दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनें ।

7

उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यो मेरो सिंहासनको ठाउँ र मेरो पाउका पैताला रहने ठाउँ हो, जहाँ म इस्राएलका मानिसहरूका बिचमा सदासर्वदाको निम्ति रहनेछु । इस्राएलको घराना, अर्थात् तिनीहरू र तिनीहरूका राजाहरूले आफ्ना विश्‍वासहीनता वा उच्‍च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् ।

8

तिनीहरूको सँघारलाई मेरो सँघारको नजिक, र तिनीहरूको ढोकाका चौकोसहरूलाई मेरो ढोकाका चौकोसहरूका नजिक राखेर, अनि म र तिनीहरूका बिचमा एउटा भित्ता मात्र राखेर अबदेखि तिनीहरूले मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् । तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूद्वारा मेरो नाउँलाई अशुद्ध बनाए, यसैले मैले तिनीहरूलाई आफ्‍नो क्रोधमा नाश गरें ।

9

अब तिनीहरूले आफ्ना विश्‍वासहीनता र तिनीहरूका राजाहरूका लाशहरूलाई मेरो नजिकबाट हटाऊन्, र म तिनीहरूका बिचमा सदासर्वदालाई रहनेछु ।

10

ए मानिसको छोरो, यस मन्‍दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्‍नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् । तिनीहरूले यो वर्णनमाथि विचार गरून् ।

11

तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्‍जित छन् भने यस मन्‍दिरको सारा संरचना, सबै विवरण, बाहिर जाने र भित्र आउने ढोकाहरू, र त्यसका सारा नमूना, र विधि र नियमहरू तिनीहरूलाई प्रकट गराउनू । अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्यसको सारा संरचना र नियमहरूलाई सुरक्षित राखून्, यसरी ती पालना गरून् ।

12

मन्‍दिरको नियम यही हो: पहाडको टुप्पोदेखि त्यसको वरिपरिको क्षेत्र पवित्र हुनुपर्छ । हेर, मन्‍दिरको नियम यही नै हो ।

13

वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्—लामो हातको नाप एक हात र चार अङ्कुलको चौडाइ बराबर हुन्छ । वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्यसको चौडाइ एक हात हुनेछ । त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ । योचाहिं वेदीको आधार हो ।

14

भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ ।

15

होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन् ।

16

अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ ।

17

त्यसको चारैतिर त्यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्यसको किनार आधा हात चौडा छ । नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा छ ।”

18

त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् ।

19

सादोकको वंशबाट मेरो सेवा गर्न मेरो नजिक आउने लेवी पुजारीहरूलाई पापबलिको रूपमा एउटा साँढे दिनू, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

20

तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्‍चित गर्नू ।

21

अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्‍यसलाई जलाउनू ।

22

अनि दोस्रो दिनमा तैंले एउटा निष्खोट बोकोलाई पापबलिको रूपमा चढाउनु । पुजारीहरूले साँढेले वेदीलाई शुद्ध गरेजस्तै वेदीलाई शुद्ध गर्नेछन् ।

23

त्यसलाई तैंले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु ।

24

ती परमप्रभुको अगि चढाउनु । पुजारीहरूले तीमाथि नून राख्‍नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन् ।

25

सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्‍यो निष्खोट साँढे र बगालको त्‍यो निष्खोट भेडो तयार गरून् ।

26

तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ ।

27

तिनीहरूले यी दिनहरू पुरा गर्नैपर्छ, र आठौं दिन र त्यसपछि पुजारीहरूले तिमीहरूका होमबलि र तिमीहरूका मेलबलिलाई वेदीमा तयार गर्नेछन्, र म तिमीहरूलाई ग्रहण गर्नेछु, यो परमप्रभु परमेश्‍वर घोषणा हो ।”