1

¶ परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु ।

2

हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू ।

3

अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्‍न सात जोडी भाले र पोथी ल्याउनू ।

4

किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्‍वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु ।”

5

परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।

6

पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए ।

7

जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे ।

8

शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ

9

भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे ।

10

सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।

11

नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले ।

12

चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो ।

13

त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।

14

हरेक जङ्गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे ।

15

जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे ।

16

भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्‍वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे ।

17

त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।

18

पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो ।

19

आकाशमुनिका सबै अग्‍ला-अग्‍ला पर्वतहरूलाई ढाक्‍ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो ।

20

पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो ।

21

पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे ।

22

जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।

23

यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्‍ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे ।

24

एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन ।