1

¶ इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्यसको फलको जति बढ्यो, त्यसले त्‍यति नै धेरै वेदी बनायो । त्यसको देशले जति धेरै उब्‍जनी दियो, त्यसले त्‍यति नै धेरै स्‍तम्‍भ खडा गर्‍यो ।

2

किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्‍काउनुहुन्छ, तिनीहरूका स्‍तम्‍भहरू नाश गर्नुहुन्छ ।

3

किनकि तब तिनीहरूले यसो भन्‍नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्‍थे र?”

4

तिनीहरू फोस्रा शब्‍दहरू बोल्छन्, र झुटो कसम खाएर करार बाँध्‍छन् । यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं, न्याय बढ्नेछ ।

5

बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।

6

महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्‍शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।

7

पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्‍ट पारिनेछ ।

8

दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछ । यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्‍नेछन् ।

9

“ए इस्राएल, तैंले गिबाको दिनदेखि नै पाप गरेको छस् । तँ अहिले त्‍यहाँ नै बसेको छस् । के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र?

10

जब म चाहन्‍छु, तब म तिनीहरूलाई अनुशासित गर्नेछु । तिनीहरूका विरूद्ध जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्‍बर अधर्मको निम्‍ति तिनीहरूलाई बन्धनमा राख्‍नेछन् ।

11

एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु, यहूदाले हलो जोत्‍नेछ । र याकूब आफैले लिंड्‍को लगाउनेछ ।”

12

आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्‍वस्‍तताको फल कटनी गर । आफ्‍नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो ।

13

तिमीहरूले दुष्‍टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्‍यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्‍ना धेरै सिपाहीहरूमा भर पर्‍यौ ।

14

यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्‍लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्‍यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्‍ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।

15

यसैले ए बेथेल, तेरो ठुलो दुष्‍टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।