1

¶ बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः

2

नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्‍ति उच्‍च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।

3

मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पुरा गर्न आफ्‍ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।

4

पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ ।

5

तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्‍यामले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ ।

6

डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ ।

7

यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ ।

8

तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्‍त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्‍छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।

9

हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।

10

आकाशका ताराहरू र तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।

11

संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु ।

12

मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु ।

13

यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्‍दो क्रोध र उहाँको प्रचण्‍ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्‍नो ठाउँमा हल्‍लिनेछ ।

14

लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

15

भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ ।

16

तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्‍नीहरूलाई बलत्‍कार गरिनेछ ।

17

हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्छन् ।

18

तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ । तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् र तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन् ।

19

त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ ।

20

पुस्‍तौं-पुस्‍तासम्म त्‍यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्‍नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।

21

तर मरूभुमिका जङ्‍गली पशुहरू त्यहाँ बस्‍नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।

22

तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्यसको समय नजिकै छ र त्यसका दिनहरू बिलम्व हुनेछैनन् ।