¶ हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्नुभएको छ ।
यो मानिसहरूलाई झैं पुजारीहरूलाई, नोकरलाई झैं मालिकलाई, दासीलाई झैं मलिक्नीलाई, किन्नेलाई झैं बेच्नेलाई, ऋण दिनेलाई झैं ऋण लिनेलाई, ब्याज लिनेलाई झैं ब्याज दिनेलाई हुनेछ ।
पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।
पृथ्वी सुख्खा हुनेछ र ओइलाउनेछ, संसार सुक्नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्ट मानिसहरू दुर्बल हुनेछन् ।
पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्तको करार उलङ्घन गरेका छन् ।
यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्वीका बासिन्दाहरू जलाइन्छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।
नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।
खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्दको सोर पनि बन्द हुन्छ । वीणाको आनन्द बन्द हुन्छ ।
तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्यो तीतो हुन्छ ।
गोलमालको सहरलाई भत्काइएको छ । हरेक घर बन्द गरिएको र रित्तो छ ।
दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ ।
सहरमा उजाड छोडिएको छ र ढोका भग्नावशेष भएर फुटेको छ ।
किनकि जस्तो जैतूनको रूखलाई हल्लाउँदा, जस्तो अङ्गुर टिप्दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।
आफ्नो सोरलाई तिनीहरूले उचाल्नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् ।
यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँलाई महिमा देओ ।
हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।
ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।
त्रासको आवाजदेखि भाग्ने खाल्डोमा पर्नेछ, खाल्डोको बिचबाट बाहिर निस्कने पासोमा पर्नेछ । स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन् ।
पृथ्वी पुर्ण रूपमा टुट्नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्दो किसिमले हल्लाइनेछ ।
पृथ्वी मद्यले मातेको मानिसझैं लरखराउनेछ र यो झुप्रोझैं यताउता हल्लिनेछ । यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन ।
त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।
तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।
तब चन्द्रमा लज्जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्ना धर्मगुरुहरूका सामु राज्य गर्नुहुनेछ ।