1

¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।

2

हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस् ।

3

ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।

4

तपाईंको लूट सलहरूले जस्तै बटुलिन्‍छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।

5

परमप्रभु उच्‍च पारिनुभएको छ । उच्‍च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।

6

तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्‍यसको भण्डार हो ।

7

हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् । शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन् ।

8

मुल बाटोहरू उजाड पारिएका छन् । त्यहाँ कुनै यात्रीहरू छैनन् । करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन ।

9

देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्‍जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्‍ना पातहरू हल्‍लाउँछन् ।

10

परमप्रभु भन्‍नुहुन्छ, “अब म उठ्नेछु, अब म उच्‍च पारिनेछु; म अब उचालिनेछु ।

11

तिमीहरूले भुस गर्भधारण गर्‍यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्‍म पार्ने आगो हो ।

12

काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।

13

तिमीहरू टाढा हुनेहरू, मैले के गरेको छु सो सुन । अनि तिमीहरू नजिक हुनेहरू, मेरो शक्तिलाई स्वीकार गर ।

14

सियोनका पापीहरू भयभित भएका छन् । ईश्‍वरहीनहरू थरथराउने डरले समातेको छ । हामीमध्ये कोचाहिं बलिरहेको आगोसँग खेल्‍न सक्छ र? हामीमध्ये कोचाहिं अनन्त जलिरहने आगोसँग खेल्‍न सक्छ र?

15

त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ—

16

यो त्‍यो मानिस हो जो उच्‍च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्‍तर हुनेछ ।

17

तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्‍नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्‍नेछन् ।

18

तिमीहरूका मनले त्रासलाई याद गर्नेछ । शास्‍त्री कहाँ छ, पैसा तौलने कहाँ छ? धरहराहरूको गन्ती गर्ने कहाँ छ?

19

तिमीहरूले फेरि हठी मानिसहरू, तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने अनौठो मानिसहरूलाई कदापि देख्‍नेछैनौ ।

20

सियोन, हाम्रो भोजको सहरलाई हेर । तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्‍नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुडाइन्छ ।

21

बरु, परमप्रभु आफ्‍नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन् ।

22

किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।

23

तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्‍न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।

24

बासिन्दाहरूले “म बरामी छु” भन्‍ने छैनन् । त्यहाँ बस्‍ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ ।