1

¶ तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।

2

तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।

3

किनकि म परमप्रभु तेरो परमेश्‍वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।

4

तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।

5

नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्‍चिमबाट जम्‍मा पार्नेछु ।

6

म उत्तरलाई, 'तिनीहरूलाई सुम्‍पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्‍नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्‍याओ ।

7

मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्‍टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।

8

आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्‍याओ ।

9

सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्‍मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्‍टि गरून् ।

10

परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्‍वास गर र म उही हुँ भनी बुझ । मभन्‍दा पहिले त्यहाँ कुनै ईश्‍वर बनेको थिएन, र न मपछि कुनै ईश्‍वर हुनेछ ।

11

म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।

12

मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्‍वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्‍वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।

13

आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”

14

परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “तिमीहरूका निम्‍ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु ।

15

म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्‍टिकर्ता, तेरो राजा हुँ ।”

16

‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,

17

जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्‍याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।)

18

“यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर ।

19

हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु ।

20

खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्‍छु,

21

यी मानिसहरू जसलाई मैले आफ्‍नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।

22

तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् ।

23

तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्‍न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु ।

24

तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्‍ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्‍ना दुष्‍ट कामहरू थकित बनाएको छस् ।

25

हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्‍नै निम्‍ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्‍नो मनमा राख्‍नेछैनँ ।

26

जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्‍छस् ।

27

तेरो पहिलो बुबाले पाप गर्‍यो, अनि तेरा अगुवाहरूले मेरो विरुद्ध अपराद गरेका छन् ।

28

यसकारण म पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु । म याकूबलाई पुर्ण विनाशको निम्ति र इस्राएललाई अपमानपुर्ण निन्‍दाको निम्ति सुम्पनेछु ।”