1

¶ तिमीहरू जो धार्मिकताको पछि लाग्‍छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।

2

तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर । किनकि ऊ एक्‍लै हुँदा मैले उसलाई बोलाएँ । मैले उसलाई आशिष् दिएँ र उसलाई धैरै बनाएँ ।

3

हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्‍थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।

4

“ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्‍नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।

5

मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्‍ति तिनीहरू उत्‍सुकतासाथ आशा गर्नेछन् ।

6

आफ्‍ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैं हराएर जानेछ, पृथ्वी लुगाझैं फाटेर जानेछ र त्‍यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।

7

ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।

8

किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ । तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ ।”

9

ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो?

10

के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?

11

परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् ।

12

“तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्?

13

परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?

14

जो झुकेका छ, परमप्रभुले मुक्‍त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।

15

किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍नुहुन्छ ताकि त्‍यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।

16

मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।

17

ए यरूशलेम जाग्, जाग्, खडा हो, तिमीहरू जसले परमप्रभुको हातको क्रोधको कचौरा पिएर मातेका छौ । तिमीहरू जसले कचौराबाट पिएका छौ र धरमराउने कचौराबाट रित्तिने गरी पिएका छौ ।

18

त्यसलाई डोर्‍याउन त्यसले जन्माएका सबै छोराहरूमध्ये कोही पनि छैनन् । हात समातेर त्यसलाई डोर्‍याउनलाई त्यसले हुर्काएको सबै छोरामध्ये कोही पनि छैनन् ।

19

तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्‍टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?

20

तेरा छोराहरू मूर्छ परेका छन् । जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्‍लीको कुनाहरूमा ढल्‍नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्‍वरको हप्‍कीले तिनीहरू भरिएका छन् ।

21

तर अब यो कुरा सुन्, ए अत्यचारमा परेकाहरू र मत्तिएकाहरू, तर दाखमद्यले मातिएकाहरू होइनन्:

22

परमप्रभु तेरा परमेश्‍वर, आफ्‍ना मानिसहरूका निम्‍ति बहस गर्नुहुने परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्‍यो पिउनेछैनस् ।

23

तँलाई सताउनेहरूका हातमा त्‍यो म राख्‍नेछु, जसले तँलाई भनेका छन्, 'भुइमा सुत्, ताकि तँमाथि हामी हिंड्नछौं ।' तिनीहरूलाई हिंड्न तैंले आफ्‍नो ढाडलाई जमिन र बाटोझैं बनाइस् ।”