1

¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

2

“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।

3

किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”

4

इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,

5

“किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौं र शान्तिको होइन ।

6

पुरुषले बच्‍चा जन्माउन सक्छ कि सक्दैन भनी सोध र हेर । किन हरेक जवान मानिस प्रसव-वेदनामा परेकी स्‍त्रीझैं आफ्नो हातले पेट समातेको म देख्छु त? किन तिनीहरू सबैका अनुहार पहेंला भएका छन् त?

7

हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्‍टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।

8

यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्‍नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन् ।

9

तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।

10

यो परमप्रभुको घोषणा हो, त्‍यसैले तँ, मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो । किनकि हेर्, मैले तँलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु । याकूब फर्कनेछ, र शान्तिमा रहनेछ । ऊ सुरक्षित हुनेछ, र त्यहाँ फेरि त्रास हुनेछैन ।

11

किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्‍चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ ।'

12

किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन । तेरो चोट सङ्क्रमित भएको छ ।

13

तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन । तेरो चोटलाई निको पार्नलाई तेरो निम्‍ति कुनै उपचार छैन ।

14

तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।

15

तेरो घाउको लागि किन मदतको माग्‍दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।

16

त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु ।

17

किनकि म तँलाई स्वास्थ्य बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन ।”

18

परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।

19

तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन्, र आनन्दको सोर निकाल्नेछन्, किनकि म तिनीहरूलाई बढाउनेछु, र घटाउने होइन । तिनीहरू अपमानित नहोऊन् भनेर म तिनीहरूको आदर गर्नेछु ।

20

त्‍यति बेला तिनीहरूका मानिसहरू पहिलेजस्तै हुनेछन्, र तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ, जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई मैले दण्ड दिन्‍छु ।

21

तिनीहरूका बीचबाटै तिनीहरूका अगुवा आउनेछ । मैले उसलाई नजिक ल्याउँदा र त्यो मतिर आउँदा त्यो तिनीहरूकै बिचबाट ऊ आउनेछ । मैले यसो गरिनँ भने, मेरो नजिक आउने साहस कसले गर्ला र? यो परमप्रभुको घोषणा हो ।

22

तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

23

हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ । यो आइरहने आँधी हो । यसले दुष्‍ट मानिसहरूका शिरमा चक्‍कर लगाउनेछ ।

24

आफ्नो मनका उद्धेश्यहरू पुरा नहुञ्जेल परमप्रभुको क्रोध शान्त हुनेछैन । आखिरी दिनमा तिमीहरूले यो कुरा बुझ्नेछौ ।”