1

¶ तब अय्यूबले जवाफ दिए र भने,

2

“कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्‍छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्‍छ?

3

यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न ।

4

मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्‍नै सरोकारको कुरो हो ।

5

तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

6

तब तपाईंहरूले जान्‍नुपर्छ, परमेश्‍वरले मेरो हानि गर्नुभएको र मलाई आफ्‍नो पासोमा पार्नुभएको छ।

7

हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।

8

मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको छ ।

9

उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।

10

उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्‍छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्‍नुभएको छ ।

11

उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ ।

12

उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।

13

उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्‍नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।

14

मेरा आफन्तहरू मबाट पछि हटेका छन् । मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन् ।

15

मेरो घरमा कुनै बेला पाहुना भएर रहेकाहरू र दासीहरूले मलाई बिरोनो ठान्छन् । तिनीहरूको दृष्‍टिमा म अनौठो भएको छु ।

16

म आफ्‍नो सेवकलाई बोलाउँछु, तर उसले मलाई जवाफ दिंदैन । मैले आफ्‍नै मुखले त्यसलाई बिन्ती गर्छु ।

17

मेरो सास मेरी पत्‍नीलाई दुर्गन्धित लाग्छ । मेरै आमाको गर्भबाट जन्मेकाहरूले पनि मलाई घृणा गर्छन् ।

18

सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् । म बोल्नलाई उठ्‍दा तिनीहरू मेरो विरुद्धमा बोल्छन् ।

19

मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।

20

मेरा हड्‍डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्‍ना दाँतको छालाले मात्र बाँचेको छु ।

21

मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्‍वरको हातले मलाई छोएको छ ।

22

परमेश्‍वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्‍ट पार्छ र?

23

ओहो, मेरो वचनहरू यति बेला लेखिए त! ओहो, ती एउटा पुस्तकमा लेखिए त!

24

ओहो, फलामको कलम र छिनोले, सदाको लागि ती चट्टानमा खोपे त!

25

तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ ।

26

मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।

27

मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।

28

तपाईंहरूले यसो भन्‍नुहुन्‍छ भने, 'हामी उसलाई कसरी सताउँ! उसको सङ्कष्‍टको जड ऊ आफै हो,'

29

तब तरवारदेखि डराउनुहोस्, किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ, यसरी न्‍याय हुन्‍छ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।”