1

¶ परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।

2

उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।

3

निश्‍चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो ।

4

उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।

5

उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।

6

उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो ।

7

उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्‍न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,

8

र मैले सहायताको लागि पुकारे र चिच्‍च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो ।

9

काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।

10

उहाँ आक्रमण गर्न ढुकेर बस्‍ने भालुजस्तो र लुकेर बस्‍ने सिंहजस्तो हुनुहुन्छ ।

11

उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।

12

उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।

13

उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।

14

म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ ।

15

उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।

16

उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।

17

मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।

18

त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”

19

मेरो कष्‍ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् ।

20

म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।

21

तर म यो स्मरण गर्दछु । त्यसैले म आशा गर्दछुः

22

परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन ।

23

ती हरेक बिहान नयाँ हुन्छन् । तपाईंको विश्‍वसनीयता महान् छ ।

24

मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।

25

परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ ।

26

मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।

27

आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्छ ।

28

त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस् ।

29

त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ ।

30

त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस् ।

31

किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्‍नुहुने छैन,

32

तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।

33

किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न ।

34

पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने,

35

सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने,

36

कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न ।

37

परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?

38

के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र?

39

कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ?

40

हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।

41

हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ:

42

“हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।

43

तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।

44

कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्‍नुभएको छ ।

45

तपाईंले जाति-जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ ।

46

हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस् ।

47

आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।

48

मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ ।

49

मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,

50

जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न ।

51

मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।

52

मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ । विनाकारण तिनीहरूले मेरो सिकार गरे ।

53

तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने,

54

अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।”

55

हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।

56

“मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्‍नुभयो ।

57

मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्‍नुभयो, “नडरा ।”

58

हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्यान बचाइदिनुभयो ।

59

हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।

60

तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ ।

61

हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ ।

62

मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् ।

63

तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् ।

64

हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।

65

तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।

66

हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ ।