1

¶ दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक ।

2

अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।

3

यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।

4

आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्मोनका पिता थिए ।

5

सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए,

6

यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्‍नीद्वारा सोलोमनका पिता थिए ।

7

सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए ।

8

आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।

9

उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।

10

हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।

11

बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए ।

12

र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए ।

13

यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।

14

आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।

15

एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए ।

16

याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्‍ट भनिन्छ ।

17

अब्राहामदेखि दाऊदसम्म जम्मा पुस्ता चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्‍टसम्म चौध पुस्ता थिए ।

18

येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो ।

19

तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन् । यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे ।

20

जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो ।

21

तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”

22

अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए,

23

“हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”

24

योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई उनकी पत्‍नीको रूपमा स्वीकारे ।

25

तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् । र उनले उहाँको नाउँ येशू राखे ।